काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीको स्टुडियोमा गत शनिबार आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बिहान साढे ८ बजे पौडेलको मृत्यु भएपछि गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि उनलाई उपस्थित गराउन नसके पनि अदालत खुलेको दिन म्याद लिएर उनको बयानको काम भने सुरु गर्ने प्रहरीले जनाएको छ । शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अस्पताल पुर्‍याइएकी नितुको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पौडेलको परिवारको जाहेरीपछि प्रहरीले गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । आत्मदाहको प्रयास गर्नुअघि गत शनिबार नितुले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा आफूले ठूलो निर्णय लिने भन्दै पोस्टसमेत गरेकी थिइन् । नितुका बुबा रमेशप्रसाद पौडलले बाबुल गिरीले विवाहको झुटो आश्वासन दिएर शारीरिक शोषण मात्र गरेकोले छोरीले आत्मदाह गरेको बताए । ‘हामीले छोरीलाई विवाहको प्रस्ताव गर्दा उनी आनाकानी गर्थिन् । टेन्सन मान्नु पर्दैन म आफैं गर्छु भन्थिन् । बिहेको बेला भएपछि म दाजुलाई भन्छु पनि भनिन्,’ नितुका बुबा पौडेलले भने, ‘छोरी बाबुल गिरीसँग ८ वर्षदेखि प्रेम सम्बन्धमा रहिछ । दुई वर्षअघि कान्छी बहिनीलाई बाबुल गिरीसँग विवाह गर्छु नत्र गर्दिनँ भनेकी थिई रे । ’ गिरीका बुबा बितेपछि आफ्नै ममीसँग पनि नितुले कुरा गरेकी रहिछन् । दसैंमा गिरीसँग कुरा गरेर बिहेको कुरा टुंग्याउने भनेकी उनको मृत्युको खबरले पौडेल परिवार अहिले शोकमा छ । नितुको आत्मदाहपछि उनका नजिकका मानिसहरुलेसमेत एक वर्षअघिदेखि बाबुलका कारण उनी तनावमा रहेको बताउँछन् । ‘बाबुलको परिवारलेसमेत मेरो छोरीलाई धम्काउने, मानसिक यातना दिने, चरित्रहीनको आरोप लगाउने र यसबाट घर चल्दैन भनेर भनेको कुरा उनले साथीहरुलाई भनेकी रहिछन्,’ रमेशले भने, ‘केही समयदेखि छोरी मलिन अनुहारमा पनि थिइन् । सञ्चो छैन भन्थिन् ।’ उनका बुबाले प्रहरीमा दिएको जाहेरीमा उक्त दिन बाबुलले नितुलाई प्रेम सम्बन्धको बारेमा टुंगो लगाउनु छ भन्दै स्टुडियोमा बोलाएका थिए । बाबुलले ‘दिदी अञ्जली, मिना र दाइ हाम गिरीलगायत परिवारका सदस्यहरुले तिमीसँगको सम्बन्धलाई स्वीकार गर्न मानेका छैनन् त्यही कारण विवाह हुन सक्दैन’ भनी भनेको कुरा उल्लेख छ । वादविवाद पछि छोरीले विवाह हुन नसक्ने भनेपछि आफ्नो प्रगाढ प्रेमका कारण आत्मदाह गरेको जाहेरीमा उल्लेख छ । बुबा रमेशले बाबुल सामान्य अवस्थामा हुँदा छोरीबाट प्राप्त सहयोग लिएको र केही गीत चलेपछि बेवास्ता गरेकोसमेत आरोप लगाए । ३० वर्षकी नितुले गायनसँगै क्याफे पनि सञ्चालन गर्दै आएकी थिइन् ।