काठमाडौं । जेनजी आन्दोलनका क्रममा फ्री तिब्बत अभियानका सहभागीहरू देखिएपछि उनीहरूको निगरानी बढेको छ। आन्दोलनमा टिओबी अर्थात् तिब्बतियन मूलको रगत (तिब्बत ओरजिन ब्लड) का सदस्यहरू देखिएपछि सरकारले निगरानी बढाएको हो।  त्यसमा जेनजी अभियन्ता सुदन गुरुङ पनि जोडिएको आशंकामा सुरक्षा निकायले उनीमाथि पनि निगरानी बढाएका छन्। गृह मन्त्रालयले यो विषय निकै गम्भीर भएकाले जोकोही भए पनि निगरानीमा रहने जनाएको छ। जेनजी अभियन्ता गुरुङमाथि पनि फ्री तिब्बत अभियन्ताको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै त्यसको खण्डन गरेका छन्। यद्यपि उनका विभिन्न गतिविधिलाई लिएर सुरक्षा अंगले निगरानी बढाएको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिहरूले हुलदंगा गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो फुटेज आएपछि गृह मन्त्रालय र मातहतका सुरक्षा अंगहरू सशंकित भएका थिए। ‘जेनजी आन्दोलनमा स्वयंसेवकका रूपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष गुरुङका गतिविधि शंकास्पद देखिएपछि निगरानी बढाइएको हो,’ स्रोतले भन्यो।  उनको विषयमा विविध प्रश्न उठेको बेला गृह मन्त्रालय पुगेका गुरुङले आफू फ्री तिब्बतको अभियानमा नरहेको भन्दै गृहमन्त्रीलाई जानकारी गराएका थिए। त्यसलगत्तै आइतबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर टिबिओ समूहमा आफू नदेखिएको र उनीहरूसँग आफ्नो चिनजान पनि नभएको जनाएका थिए। फ्री तिब्बतको विषय उठेपछि नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत चासो दिएर उनीमाथि निगरानी गरिरहेको छ।  आन्दोलनमा ठुलो भूमिका नभए पनि पछिल्लो समय सरकार गठनमै उनले हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन्। गृह मन्त्रालयका सहप्रवक्ता रवीन्द्र आचार्यले शंकास्पद देखिएको जोकोहीमाथि निगरानी गर्न मातहत सुरक्षा अंगलाई निर्देशन गइसकेको बताए।   अहिले सादा पोसाकको प्रहरी टोलीले उनको निगरानी गरिरहेको छ। उनको समूहबाहेकका जेनजीहरूले गुरुङले आन्दोलनको अपनत्व लिन खोजेको भन्दै विरोध पनि गरिरहेका छन्।  टिओबी प्रकरणमा मुछिएका केहीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जेनजी आन्दोलनमा हतियारसहित सहभागी भएको आरोप लागेका टीओबी समूहका तीन युवाहरूलाई ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिइसकेको छ। उनीहरूविरुद्ध अभद्र व्यवहारमा प्रशासनबाट अनुमति लिएर प्रहरी थप ६ दिन अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्। नागरिक दैनिकबाट