आज काठमाडौंमा जुलुस, र्याली र प्रदर्शन गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राजधानी क्षेत्रमा र्याली, जुलुस र प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।
विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूलाई रोक लगाइएको प्रशासनले जनाएको छ । गत भदौ २३ गतेको जेन–जी आन्दोलन पछिका दिनहरूमा भएका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिको प्रसंग स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहलाई सुचारु राख्न आफू केन्द्रित रहेको स्पष्ट गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “विभिन्न समूहहरूबाट आयोजना हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले, यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम सञ्चालन गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ ।”
जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३)(क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ ।

