युद्धविराम सम्झौताको स्वागत गर्दै विपिनलाई मुक्त गर्न नेपालको आग्रह काठमाडाैं । प्यालेस्टाइनको हमास समूहले सोमबारभित्र आफ्नो कब्जामा रहेका २० जीवित युद्धबन्दी छाड्ने भएको छ । इजरायल र हमासबिच बिहीबार बिहान इजिप्टमा भएको युद्धविराम सम्झौताअनुसार हमासले उनीहरूलाई छाड्ने भएको हो । तर, उक्त २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने छैन । हाल जीवित र मृतक गरी ५० जना हमासको कब्जामा छन् । जसमा विपिन पनि छन् । सोमबारभित्र छाड्ने भनिएका २० जीवितमा सबै इजरायली नागरिक छन् । दुईजनाको अवस्था अज्ञात छ । यिनै दुईमध्येमा विपिन पनि रहेको विश्वास गरिएको छ । अन्य २८ जनाको शव हमासको कब्जामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘हमासले छाड्न लागेका २० जना युद्धबन्दीहरूको सूचीमा विपिन जोशीको नाम भएको जानकारी छैन,’ इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले भने, ‘विपिनको जेजस्तो अवस्था छ, त्यो पनि चाँडै नै जानकारीमा आउनेछ भन्ने आशामा छौँ ।’ इजरायल र हमास समूहबिच भएको सम्झौतालाई बिहीबारै इजरायलको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । इजरायल र हमास समूहबिच बुधबार इजिप्टको सर्म एल शेखमा अमेरिका, टर्की, कतार र इजिप्टका अधिकारीहरूले मध्यस्थता गरेको वार्तामा युद्धविराम सम्झौता भएको थियो । यसको सूत्राधार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मानिन्छन्, जसले युद्धविराम सम्झौता इजरायल र हमासबिच मात्र नभएर सम्पूर्ण मध्यपूर्व (पश्चिम एसिया)को शान्तिका लागि महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् । सम्झौताको ग्यारेन्टीकर्ताका रूपमा अमेरिका, कतार, इजिप्ट र टर्कीका प्रतिनिधिले पनि हस्ताक्षर गरेको इजरायलको आई २४ न्युजले समाचार दिएको छ । युद्धविराम सम्झौताअनुसार हमासको कब्जामा रहेका २० इजरायली युद्धबन्दीहरू सोमबारसम्म मुक्त हुँदा इजरायलले पनि जेलमा रहेका हमाससम्बद्ध व्यक्तिलाई छाड्नेछ । हमासले जीवित युद्धबन्दीलाई छाडेपछि दोस्रो चरणमा आफ्नो कब्जामा रहेका मृतकहरूको शव हस्तान्तरण गर्नेछ । मृतकका शव एकैठाउँमा नभएको जानकारी हमासका वार्ताकारहरूले बताएपछि मृतक पत्ता लगाउन कार्यदल गठन भएको जेरुसेलम पोस्टले जनाएको छ । ‘इजरायली, अमेरिकी, कतारी र इजिप्टका प्रतिनिधि सहभागी कार्यदललाई मृतक खोज्न आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराइने भएको छ,’ जेरुसेलम पोस्टले बिहीबार समाचार प्रकाशित गरेको छ, ‘मृतक राखिएको ठाउँ खोज्न कतिपय घरहरू नै भत्काउनुपर्ने हुन सक्छ, यसका लागि आवश्यक सबै उपकरण कार्यदललाई उपलब्ध हुनेछ ।’ बुधबारको निर्णायक वार्तामा इजरायलले युद्धबन्दीहरू तथा शव फिर्ता गर्ने समयसीमा तोक्नुपर्ने अडान राखेको थियो भने हमास पक्षले इजरायल पुन: युद्धमा नफर्किने लिखित विश्वसनीयता दिनुपर्ने अडान राखेको थियो । हमासले २३ असोज ०८० मा इजरायलको निर ओज र आलुमिम किबुजमा गरेको अन्धाधुन्ध हवाई आक्रमणमा नेपाली १० सहित विभिन्न देशका नागरिक र १२ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको थियो । हमास समूहले इजरायलबाट गाजापट्टीमा २५१ जनालाई लिएर गएको थियो । यिनैमध्येका जीवित र मृतक गरी ५० जना हमासको कब्जामा रहेका हुन् ।