काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्माले जेन-जी आन्दोलनपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्षसहित पदाधिकारीले राजीनामा दिएर युवा पुस्ताको नेतृत्वमा महाधिवेशनमा जानुपर्ने फरक मत राखे । तर उनको प्रस्तावमा छलफल त भयो तर सुनुवाइ भएन । केन्द्रीय समितिले माओवादी केन्द्रीय समिति विटघन त गर्‍यो तर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइयो । पार्टी प्रमुख दाहाल नै बने, अरु पदाधिकारीहरू आयोजक समितिका सदस्यमा परिणत भए । सामाजिक सञ्जालमा व्यंग्य पनि भयो, ‘पुष्पकमल दाहालले अध्यक्ष छाडे, प्रचण्ड पार्टी प्रमुख बने ।’ व्यंग्यकै रूपमा भए पनि यसले आगामी माओवादी नेतृत्व कसले लिने भन्ने संकेत भने गरेको छ । मंसिर अन्तिम साता हुने भनिएको महाधिवेशनमा माओवादीको नेतृत्व युवा पुस्तामा आउनेमा संशय भने छ । यद्यपि दाहालले आफूले नेतृत्व हस्तान्तरण गर्ने निकट नेताहरूसँग बताएका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले सोमबार विघटित प्रतिनिधिसभाका प्रमुख दलका प्रमुख नेतालाई बिदाइ नगरे मुलुकले थप क्षति बेहोर्नुपर्ने बताए । जेन-जी आन्दोलनपछि पनि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘जति सक्यो छिटो बिदा गर्नुपर्ने’ उनको भनाइ थियो । जेन-जी आन्दोलन हुनुमा यी नेता मुख्य जिम्मेवार भएकाले पार्टीको नेतृत्व नेतृत्व पुनगर्ठन गरी नयाँ ढंगले अघि जानुपर्ने उनको भनाइ छ । ‘दुई महिनाभित्र चार पार्टीका नेतृत्वमा सुधार भएन पनि नेताहरू त्यहाँ बस्न नसक्ने अवस्था आउँछ,’ उनले भने, ‘दुर्भाग्यवश, अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी देखिएको छैन । २३ गते ‘जेन-जी’ ले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ, त्यसले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नुपर्छ ।’ आ-आफ्नो पार्टीभित्र फरक मत राख्दै आएका शर्मा र भूसाल पछिल्लो नेतृत्व हस्तान्तरण नभए वैकल्पिक ध्रुवीकरण अभियान चलाउने विषयमा निरन्तर संवादमा छन् । निरन्तर फरक मत राख्दै आए पनि उनीहरूको मत निर्णायक हुन सकेको छैन । यस्तो अवस्थामा दुई नेता उकुसमुकुस दबाएर बसेका छन् । जेन-जी आन्दोलनपछि शर्मा र भूसालले आ-आफ्नो पार्टीबाट विद्रोह गरी नयाँ अभियान सुरु गर्लान् ? माओवादी केन्द्रीय समितिमा शर्माले ‘दाहालको नेतृत्व नभए पार्टी नै विघटनतिर हुन्छ’ भन्नु भ्रम मात्र भएको बताएका थिए । व्यक्तिको वरिपरि घुमेको पार्टीले समाजवादी क्रान्ति अघि बढाउन नसक्ने उनको भनाइ थियो । ‘नेतृत्वका लागि नयाँ पुस्ता पनि तयार छ । जस्ताको तस्तै प्रचण्ड कहाँ पाउने त अहिले ? अर्को प्रचण्ड नभएसम्म, के उहाँपछि यो पार्टी विघटन हुने हो ?,’ उनको प्रश्न थियो, ‘तपाईं नभएको दिन यो पार्टी विघटन हुने हो ? माओले गल्ती गरे (माओको मृत्युपछि मात्र नेतृत्व हस्तान्तरण भएको थियो । त्यसकारण जीवित हुँदै नेतृत्व निर्माण गर्नुपर्छ ।’ गत वर्षदेखि शर्माले अध्यक्ष दाहालले नेतृत्व छाड्नुपर्ने माग गर्दै आएका छन् । पछिल्लो केन्द्रीय समितिमा दाहालले महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न नचाहेको उनको आशंका छ । ‘तपाईं विधान भन्दामाथि बसेर यो संगठनको जिम्मा अरु कसैलाई दिनुस् र त्यसरी यो पार्टी बनाऔँ । तपाईंले वैचारिक राजनीतिक सत्ताको काम समग्रमा नेतृत्व गर्नुस्,’ शर्माले माग गरेका थिए । मंसिरमा हुने भनिएको पार्टीको महाधिवेशनमा खुला प्रतिस्पर्धा नभए त्यसको अर्थ नहुने उनको भनाइ छ । ‘यो महाधिवेशनलाई सफल पार्ने हो । त्यहाँ फेरि सिन्डिकट लाउने हो ? बोल्न नपाइने हो भने त महाधिवेशन किन गर्ने ? होइन भने खुला एउटा विचारको बहसका आधारमा, आम जनतासहित विचारको बहस आजबाट खुला बहस गरेर एउटा परिस्थिति तयार गरेर महाधिवेशन गरौं,’ उनले भनेका थिए, ‘मैले आफ्नो तर्फबाट फरक मत राखेको छु । बहसमा कतिले समर्थन गर्छन् । कति भोट आउँछ ? मलाई सरोकार छैन । विषयमा बहस गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले मंसिरको अन्तिम साता हुने महाधिवेशनसम्म युवामा नेतृत्व हस्तान्तरणको मुद्दा लिएर देशव्यापी जाने तयारी गरेका छन् । त्यसबेला दाहालले नेतृत्व नछाडे विद्रोह गर्ने मनस्थिति उनले बनाएको एक नेताले बताए । यसअघि शर्मा, भूसाल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दले वामपन्थी ध्रुवीकरण गर्ने भन्दै साझा कार्यक्रम गरिसकेका छन् । तीन नेूता अहिलेको नेतृत्वलाई विस्थापित गर्न सहमत छन् । ‘आजीवन सत्ताभोगमा लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै मुख्य जिम्मेवार हुन्,’ भूसाल भन्छन्, ‘कुनै पनि बहानामा यस तथ्यलाई अस्वीकार गरियो भने मुलुकलाई अस्थिरताको अर्को चक्रबाट बचाउन सकिँदैन । सबैजसो पार्टीका नेताहरू आ-आफनो पद र नियन्त्रण यथावत राख्न अनेक बहानाबाजी गर्नेछन् तर समाजले बहिष्कार गरेको नेतृत्व बोकेर पार्टीहरू जनतामा जान सक्ने छैनन् ।’ भदौ २३ गते राति बसेको माओवादी केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि आफ्नो हातमा आउने बताएको शर्माले असोज १० को केन्द्रीय समिति बैठकमा बताएका थिए । ‘अध्यक्षले भोलि सरकार हाम्रो हातमा आउँछ भने जस्तो भयो । मैले त्यतिबेला प्रतिवाद गरेँ । परिस्थिति यस्तो छैन । संविधान जाँदै छ,’ उनले भनेका थिए, ‘देश जल्दै छ । ठूलो समस्या आउँदै छ । त्यस्तो हुँदैन भन्ने मैले मत राखेको थिएँ ।’ भदौ २४ मा प्रदर्शनकारीले राष्ट्रपति भवन, सिंहदबार, संसद् भवनलगायत नेताहरूको निवासमा आगजनी भएपछि दाहाललगायत प्रमुख दलका नेताहरूलाई नेपाली सेनाले उद्धार गरी ब्यारेकमा राखेको थियो । दाहालले पटक-पटक माओवादी छाड्ने भने पनि रगत पसिनाबाट निर्माण भएकाले अडिएको तर्क शर्माको छ । ‘मैले विषय उठाएबापत दुईचोटि पदाधिकारी बैठकमा, एकचोटि मलाई एक्लै पार्टी छोड भन्नुभयो । अर्को पटक दसौँ हजार जनताको बीचमा (रुकुम पश्चिम) मा गए पनि हुन्छ भन्नुभयो,’ केन्द्रीय समिति बैठकमा उपमहासचिव शर्माको आक्रोश थियो, ‘पार्टी अध्यक्षको व्यक्तिगत भए त म हिँडिहाल्नु पर्थ्यो । यो व्यक्तिगत होइन, यो सिंगो रगत पसिनाले बनेको पार्टी हो । त्यसकारण अध्यक्षले भन्दैमा हिँड्नु हुन्न भनेर बसिराख्या छु त म ।’ एकीकृत समाजवादी महासचिव भूसालले पुराना पार्टीहरूमा गुटबन्दी बलियो बनाउन राज्य दोहन गर्ने र विचौलियाको संगठन बनाउँदा अहिलेको अवस्था आएको र नसुध्रिए अझै राजनीतिक दुर्घटनामा पर्ने बताए । ‘अहिले भाष्य बनाइदैछ, संकटमा नेतृत्व जोगाउनुपर्छ । यो संकट यिनीहरुले ल्याएका हुन्,’ उनले भने, ‘यति ठूलो राजनीतिक घटना हुँदा पनि पार्टी नेतृत्वमा सुधारको कुनै संकेत छैन । यस्तै हो भने अर्को दुर्घटना हुनेछ ।’ भूसालले पार्टीहरूले नेतृत्व पुनर्गठनसहित तत्काल गर्नुपर्ने काम अघि सारेका छन् । ‘त्रासदिपूर्ण सम्भानालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्छ,’ उनको प्रस्ताव छ, ‘नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिहरूको पुनर्गठनको मुद्दालाई सहयोग गर्नुपर्छ ।’ संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको श्वेतपत्र जारी गर्नुपर्ने, कम्तीमा आजसम्म सार्वजनिक पदमा सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर श्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरणको संकल्प गर्नुपर्ने उनको भनाइ छ । ‘सबै वामपन्थी पार्टीहरूमा विचार, राजनीति, संगठन र मुद्दाहरूको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ,’ भूसालको भनाइ छ, ‘पुनर्गठित वामपन्थी पार्टीहरुलाई बृहत ध्रुवीकरण र एकतातर्फ लैजानु पर्छ ।’ जेन-जी समूहको सपना सम्बोधन गर्न ‘आगामी दस वर्षमा काम गर्ने उमेरका सबै नेपालीले रोजगारी पाउने र भ्रष्टाचार नहुने सुशासनयुक्त राज्यका साथ समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम ल्याउनुपर्ने’ उनको प्रस्ताव छ । जेन-जी आन्दोलनपछि माओवादी केन्द्रीय समितिमा उपमहासचिव शर्माले माओवादी सदन र सडको मोर्चा सम्हाल्न नसकेको बताए । ‘जेन-जी आन्दोलन किन भयो ? सदन सडक मोर्चा भन्यौ तर सडकको मोर्चा हामीले सम्हालेनौ नि ? सडकको मोर्चा निरन्तर सहालेको भए यस्तो हुने थिएन,’ उनले थपे । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई दह्रो खबरदारी गर्न नसकेकाले सडकको मोर्चा पनि गुम्न पुगेको उनको भनाइ थियो । कान्तिपुर दैनिकबाट