प्रधानमन्त्री मौन बसिरहे , गृहमन्त्रीको राजीनामा

काठमाडौं । सामाजिक सञ्जाल संचालन र भ्रष्टाचार अन्त्यको माग गर्दै जेनजीले गरेको आन्दोलनमा निर्मम दमन गरेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । तर सरकारको मूल नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली अझै मौन छन् । आज बसेको मन्त्रिपरिषद बैठक अघि मन्त्री लेखकले राजीनामा दिएका हुन् । क्याविनेट बैठक अघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग टेलिफोनमा कुरा गरेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए । गृहमन्त्री लेखकमाथि यसअघि काठमाडाैंमा ठूलाे बाढीले मानिसहरू बगाउँदा उद्दारमा भएकाे लापरवारी र केही महिनाअघि राजावादीहरूकाे अभियानकाे नियमन र नियन्त्रणका क्रममा पनि उनीमाथि प्रश्न उठेकाे थियाे । क्याविनेट बैठकमा गृहमन्त्री सहभागि भएका थिएनन् ।

