जेनजीको आन्दोलनले देशभरको अवस्था तनावपूर्ण, अहिलेसम्म केही बोल्दैन सरकार

काठमाडौं । सामाजिक सञ्जाल सुचारु गराउन र भ्रष्टाचार नियन्त्रणका लागि जेनजी पुस्ताले गरेको स्वतस्फुर्त आन्दोलनका कारण देशभरको अवस्था तनावपूर्ण भएपनि सरकार भने अहिलेसम्म मौन छ । अहिलेसम्मको अवस्थाबारे न सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय बोलेको छ, न प्रधानमन्त्री वा सरकारका प्रवक्ता नै । सरकार समर्थित दल नेपाली कांग्रेस, एमाले लगायत दलका नेताहरू पनि माैन छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भने जेनजीका माग पूरा गर्न सरकारसँग अनुराेध गरेका छन् । आन्दोलनका कारण अहिलेसम्म २ जनाको मृत्यू भएको पुष्टि भइसकेको छ । तीन पत्रकारसहित ३ सय जनाभन्दा धेरै घाइते भएका छन् । प्रधानमन्त्री केपी ओलीकै गृहजिल्ला झापासहित विराटनगर, पोखरा, दाङ, धनगढी लगायत स्थानमा आन्दोलन चर्किएको छ ।

