काठमाडौं, २०८२ भदौ २० — पीपी प्रसाई फाउण्डेसनले नेपालका शिक्षा तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व–उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले पूर्व–सचिव दीपेन्द्रपुरुष ढकाललाई “पी.पी. प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०२५” प्रदान गर्नुभयो।

ढकालको सचिवीय कार्यकालमा नेपाल भ्रमण वर्ष–१९९८ अभियान सफल बनेको थियो। उहाँकै नेतृत्वमा नेपाल पर्यटन बोर्डको स्थापना (सन् १९९८) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको गठन भएको स्मरण गरिएको छ। पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।

यसैगरी, फाउण्डेसनले सात प्रदेशका सातजना सामुदायिक विद्यालयका शिक्षकलाई “उत्कृष्ट शिक्षक पुरस्कार–२०८२” बाट सम्मानित गरेको छ। सम्मानित शिक्षकहरूमा:

कोशी प्रदेश — केशवराज कट्टेल (फिक्कल माध्यमिक विद्यालय, इलाम)

मधेश प्रदेश — जितेन्द्र राम (अजिज मियाँ माध्यमिक विद्यालय, पर्सा)

बागमती प्रदेश — अप्सरा कुमारी घिमिरे (जन उद्धार माध्यमिक विद्यालय, काठमाडौं)

गण्डकी प्रदेश — विष्णु घिमिरे (राधा माध्यमिक विद्यालय, तनहुँ)

लुम्बिनी प्रदेश — प्रभात सुवेदी (बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, बर्दिया)

कर्णाली प्रदेश — देवेन्द्र तिमिल्सिना उपाध्याय (कर्णाली माध्यमिक विद्यालय, जुम्ला)

सुदूरपश्चिम प्रदेश — हेमराज विष्ट (धनगढी नमूना प्राविधिक विद्यालय, कैलाली)

फाउण्डेसनले प्रत्येक शिक्षकलाई रु. ५० हजार नगद पुरस्कारसहित सम्मान प्रदान गरेको छ। साथै पुरस्कृत शिक्षकले अध्यापन गराउने विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ।

निर्णायक समितिले शिक्षकको शिक्षण शैली, विद्यार्थीको अतिरिक्त प्रतिभा विकास, अभिभावक तथा समुदायसँगको सम्बन्ध, शिक्षण पेशाप्रतिको समर्पण, तालिमको प्रभावकारी प्रयोग लगायतका आधारमा उत्कृष्ट शिक्षक छनोट गरेको थियो।

फाउण्डेसनले स्व. पर्यटन व्यवसायी प्रजापति प्रसाईको स्मृतिमा २०६७ सालमा यो पुरस्कार स्थापना गरेको हो। प्रसाईले ग्रामीण क्षेत्रमा शिक्षा र पर्यटनको विकास गर्ने सपना देख्नुभएको थियो। सन् १९९९ (वि.सं. २०५६ भदौ २०) मा भएको विमान दुर्घटनामा उहाँको निधन भएको थियो।