काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार निरङ्कुश र अधिनायकवादी बन्दै गएकाले सडक आन्दोलन अपरिहार्य भएको बताए।

उपाध्यक्ष सापकोटाले संसद्मा पार्टीको सङ्ख्या कम भए पनि जनतालाई जागृत गरी सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलन नै एकमात्र विकल्प भएको उल्लेख गरे। उनले पार्टीका नेता–कार्यकर्तालाई आन्दोलनको मानसिक र व्यावहारिक तयारीमा जुट्न आह्वान गरे।

“सरकार अधिनायकवाद, तानाशाही र निरङ्कुशतातर्फ उन्मुख छ। हामीले जनतालाई सचेत गराउँदै आन्दोलनको बाटो रोजेका छौँ,” सापकोटाले भने। उनले थपे, “संसद्मा हाम्रो सङ्ख्या कम छ, त्यसैले सडकबाटै दबाब सिर्जना गर्नुपर्छ। म सबैलाई आन्दोलनको तयारीमा जुट्न आग्रह गर्छु।”

सापकोटाले सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस र नेकपा एमाले) बीच पनि गम्भीर अन्तर्विरोध रहेको दाबी गरे। उनले सरकारलाई ‘गुण्डा दल’ को संज्ञा दिँदै राज्य सत्ता कब्जा गर्ने दिशामा अघि बढेको आरोप लगाए। “सत्तारुढ दलहरूबीच ठूलो अन्तर्विरोध छ, तर उनीहरूको साझा लक्ष्य भनेको अधिनायकवाद लाद्नु हो,” उनले भने।