घुस डिल प्रकरण : ओलीको ‘ब्याकअप’मा मन्त्री अधिकारीको शक्ति !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का एक सदस्यलाई निलम्बन गरे पनि अर्का मन्त्रीलाई भने जोगाएका छन् । निवतृमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि ओलीकै ब्याकअपमा भूमिमन्त्री बलराम अधिकारी भने निर्धक्क छन् ।
एउटै प्रकृतिको घुस डिलमा गुप्ताले पदबाट हात धुनु परेको छ भने मन्त्री अधिकारीलाई भने प्रधानमन्त्री ओलीले ब्याकअप दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको भ्वाइस टेष्टमा सार्वजनिक भएको अडियो गुप्ताको नै भएको पुष्टि भएको छ ।
एमाले नेतासमेत रहेका गुप्तालाई छिट्टै विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी अख्तियारको छ । तर, उहीँ प्रकृतिको मुद्दामा भूमिमन्त्री अधिकारीलाई जोगाइएको छ । गुप्ताले मन्त्री अधिकारीले पैसा खाएर काम नगरेको बताएका छन् ।
लिचिबारीको जग्गा हड्प्न बिचौलिया सुजन लामालेसमेत मन्त्री अधिकारीका छोरा र मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेललाई पैसा बुझाएको बताएका छन् ।
ओलीको ‘ब्याकअप’मा मन्त्री अधिकारीको शक्ति !
घुस डिल प्रकरणमा जोडिएका मन्त्री अधिकारीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो साथ छ । त्यसैले प्रकरणका मुख्य व्यक्ति भूमि व्यवस्थामन्त्री अधिकारी भने अझै पदमै छन् । सार्वजनिकरुपमा उनी निधक्कसँग कार्यक्रममा हिँडिरहेका छन् ।
पूर्वमन्त्री रञ्तिता श्रेष्ठलाई बयानमा बोलाइए पनि मन्त्री अधिकारीलाई भने छानबिनको दायरामा ल्याइएको छैन । बेलाबेलामा नैतिकताको कुरा गर्ने ओलीले आफूसमेत जोडेर भइरहेको आलोचनालाई सुन्न नचाहने एक एमाले नेताले बताएका छन् ।
मन्त्री अधिकारीलाई राजीनामा गराउनु पर्ने तर्क गर्नेलाई प्रधानमन्त्री ओलीले हपारेर पठाउने गरेका छन् । आफ्नै क्याबिन र आफ्नै पार्टीका नेतासमेत रहेका मन्त्री अधिकारीको बचाऊमा स्वयं ओली नै लागेका छन् ।

