त्रिविवि नर्सिङ क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीका सात समूहबीच सम्पन्न प्रतियोगिताको उद्घाटन साहित्यकार तथा सम्पादक रमेश दाहालले गरेका थिए भने कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् । प्रतियोगितामा प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल रहेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ र साहित्यकार पार्वती भट्टले भूमिका निर्वाह गरेका थिए । प्रतियोगी समूहहरूले प्रस्तुत गरेका तीज गीतहरूले नर्सहरूको व्यथा, पेशालाई सामाजिक सेवाको रूपमा हेरिनुपर्ने सन्देश तथा स्वास्थ्य सचेतनासम्बन्धी भावहरूलाई समेटेका थिए, जसले उपस्थित सबैलाई भावुक बनाएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण कँडेलले प्रस्तुत गीतहरूले परम्परागत तीज गीतको वास्तविक स्वाद जगाएको बताउँदै, पछिल्लो समय पार्टी प्यालेसमा ह्वीस्की र बियरसँग डिस्को शैलीमा तीज मनाउने प्रवृत्तिलाई समेत सचेतना दिएको टिप्पणी गरेका थिए ।

मूल्याङ्कनका आधारमा सातौँ समूह प्रथम घोषित भएको छ भने अन्य समूहका गीतहरू पनि उत्कृष्ट रहेको बताइएको छ । पार्वती भट्टले विजयी घोषणा गरेकी थिइन् । विजेताहरूलाई प्रमुख अतिथि कँडेल, विशेष अतिथि दाहाल र क्याम्पस प्रमुख थापाले पुरस्कार वितरण गरेका थिए । अन्य समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण कँडेल र गायिका निर्मला भण्डारीबीचको “राइझुमा” बोलको दोहोरीले वातावरण थप रोचक बनेको थियो । क्याम्पसकी शिक्षिका सीता वलीले सञ्चालन गरेको कार्यक्रममा सह–प्राध्यापक कृष्णादेवी श्रेष्ठले धन्यवाद मन्तव्य दिएकी थिइन् ।
अन्त्यमा प्रमुख अतिथिलाई कदरपत्र, निर्णायक तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

