काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट उपसभामुख बनेकी इन्दीरा रानालाई हटाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले गरेको दोस्रो प्रयास पनि असफल हुने लगभग पक्का भएको छ । विभिन्न संवैधानिक निकायमा आफ्ना अनुकुलका मान्छे नियुक्त गर्न संवैधानिक परिषदमा बाधा परेपछि परिषद सदस्यसमेत रहेकी राना हटाएर कांग्रेस एमालेले आफ्ना मान्छे पठाउन खोलेका थिए । तर मानसिव कारणविना संसदमा महाभियोग जस्तो हतियार चलाउन खोजेपछि कांग्रेस भित्रकै शेखर कोइराला पक्ष र सरकारलाई समर्थन दिइरहेको दल जनमत पार्टीले असहमति जनाएको हो । यी दुई पक्षले असहमति जनाउने  वित्तिकै सत्ता पक्षले संसदमा दुइ तिहाइ मत बनाउन सक्दैन ।  संवैधानिक परिषदमा कांग्रेसको उपस्थिति शून्य रहेको भन्दै रानामगर हटाउन उनीमाथि‘पदअनुरुपको आचरण नगरेको’ आरोप सत्तापक्षले लगाएकाे छ। दुवै दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गराएका छन्। काठमाडौँ उपत्यका भएकाहरूले मंगलबार नै खाली पानामा हस्ताक्षर गरिसकेका छन्। उपत्यकाबाहिर भएकाहरूलाई समेत छिटो भन्दा छिटो आइपुग्न भनिएको छ।  उपसभामुख हटाउन दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ। त्यही भएर अन्य दलका सांसदको हस्ताक्षर गराएर मंगलबार नै संसद् सचिवालयमा दर्ता गराउने तयारी थियो। तर, कांग्रेसभित्रकै शेखर कोइराला पक्षले हस्ताक्षर नगर्दा उक्त तयारी रोकिएको छ। उपसभामुख रानाकै कारण ६ सदस्यीय संवैधानिक परिषदमा बहुमत पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकस परेको छ। रानामगरलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउन ओलीले एकवर्ष अघि नै तयारी गरे पनि पहिलो प्रयास असफल भएको थियो। प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहित संयन्त्रका केही सदस्यलाई बालुवाटार बोलाए। उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथै लिएर सभापति शेरबहादुर देउवा बालुवाटार पुगे। जहाँ उपसभामुख हटाउने विषयमा छलफल मात्र भएन, दुई तिहाइ पुर्‍याउन सकिने हिसाबकिताब पनि निकालियो। अहिले प्रतिनिधि सभामा दुई तिहाइ पुर्‍याउन १८३ सांसद चाहिन्छ। कांग्रेस–एमालेका १६४ जनाले मत दिन पाउँछन्। जनता समाजवादी पार्टी (अशोक राई) का ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ जनाले मत दिने निश्चित रहेकोले बाँकी २ मतका लागि नागरिक उन्मुक्ति पार्टीको साथ लिन सकिने बालुवाटार बैठक निचोडमा पुग्यो। त्यसमाथि उपेन्द्र यादवसँग पनि कुरा गरेर साथमा लिन सकिने भएकाले एकपटक कुरा गर्ने समझादारी जुट्यो।   सोही अनुसार कांग्रेसले मंगलबार बिहानै पदाधिकारीको बैठक बोलायो। एमालेले संसदीय दलको बैठक। पदाधिकारी बैठकमा सभापति देउवाले उपसभामुखको कारण अप्ठेरो परेको बताएका थिए। कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतका अनुसार संवैधानिक परिषदमा आफ्नो तर्फबाट उपस्थिति नभएकोले समस्या भएको देउवाले सुनाएका थिए।      सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पनि सत्तापक्षले सहयोग मागेको थियाे।  उता नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर अब फेरि समर्थन गर्ने अवस्था आइपरेको अध्यक्ष रञ्जिता श्रेष्ठको भनाइ छ। समर्थन फिर्ता लिएपनि साे पार्टीका राज्यमन्त्रीले भने पद छाेडेका थिएनन् । असम्बन्धित व्यक्तिलाई अमेरिका उडाउन अमेरिकी दूतावासलाई पत्र लेखेपछि उपसभामुख रानामगर गत वर्ष विवादमा परेकी थिइन्। एमालेका मुख्य सचेतक महेश बर्ताैलाले उपसभामुखको विषयमा प्रश्न उठेकोले निरुपण गर्ने बेला आएको बताए।