चीन–भारतबीच उच्चस्तरीय छलफल सुरु, आज विदेशमन्त्री वाङ दिल्ली जाँदै

अगष्ट १७ (चाइना डेली/एजेन्सी) – चीन र भारतबीच सीमा विवाद समाधान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नयाँ चरणको उच्चस्तरीय कूटनीतिक पहल सुरु हुने भएको छ। छलफलका लागि चीनका विदेशमन्त्री वाङ यी सोमबारदेखि तीनदिने भारत यात्रामा जाँदैछन् । यो उनको करिब तीन वर्षपछि भएको पहिलो भारत भ्रमण हो।
चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङ यी चीन–भारत सीमा प्रश्नका लागि चीनका विशेष प्रतिनिधि समेत भएकाले उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग संयुक्त रुपमा सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्तामा सह-अध्यक्षता गर्नेछन्।
यो बैठक सन् २०२० मा भएको सीमा झडपपछि दोस्रो उच्चस्तरीय संवाद हो। गत डिसेम्बरमा बीजिङमा सम्पन्न २३औँ चरणमा दुवै देशबीच वार्ता अघि बढाउने, सीमा व्यवस्थापन बलियो बनाउने, सीमान्त क्षेत्रमा सहयोग बढाउने लगायतका विषयमा छबुँदे सहमति भएको थियो।
सीमा क्षेत्रबाट सेना घटाउने सम्भावना
ब्लूमबर्गले उद्धृत गरेका स्रोतअनुसार आसन्न वार्ता विवादित सीमा क्षेत्रमा तैनाथ सैनिक संख्यामा कटौती गर्ने सम्भावनामा केन्द्रित हुनसक्छ, जसले दुई देशबीच विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण कदमको संकेत गर्नेछ।
गत अक्टोबरमा रसियाको कजानमा दुवै देशका नेताहरूबीच भएको भेटवार्तापछि चीन–भारतबीच विभिन्न स्तरमा नियमित सम्पर्क भइरहेको छ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “दुवै देशका नेताबीच भएका साझा समझदारीलाई कार्यान्वयन गर्न, उच्चस्तरीय सम्पर्कलाई निरन्तरता दिन, आपसी विश्वास सुदृढ बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न र मतभेदलाई सही ढंगले व्यवस्थापन गर्न चीन भारतसँग सहकार्य गर्न तयार छ।”
७५औँ कूटनीतिक वार्षिकोत्सव
यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष हो। यसै सन्दर्भमा जूनमा वाङ यीले बीजिङमा डोभलसँग र जुलाईमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। दुबै पक्षले अवसरलाई प्रयोग गर्दै द्विपक्षीय व्यावहारिक सहयोग विस्तार गर्ने र सीमा क्षेत्रमा शान्ति कायम राख्ने इच्छा व्यक्त गरेका थिए।
व्यापार, यातायात र सांस्कृतिक सहयोगमा प्रगति
हालैका महिनाहरूमा दुवै देशबीच व्यापार, आर्थिक र सांस्कृतिक क्षेत्रमा केही प्रगति भएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले भनेका छन्, “दुवै देश तोकिएका तीनवटा सीमा नाकामार्फत व्यापार पुनःसुरु गर्ने दिशामा काम गरिरहेका छन्।”
साथै, कोभिड–१९ महामारीपछि स्थगित हवाई उडान चाँडै पुनः सुरु गर्ने तयारी भइरहेको र यसको घोषणा आगामी अगस्त अन्त्यमा हुने शाङ्घाई सहयोग संगठन (SCO)को तिआन्जिन शिखर सम्मेलनमा हुन सक्ने जनाइएको छ।
यसै वर्ष चीनले भारतीय तीर्थयात्रीलाई तिब्बत (सीजाङ) स्वायत्त क्षेत्रमा धार्मिक भ्रमण गर्न अनुमति दिएको थियो भने भारतले जुलाईदेखि चिनियाँ नागरिकलाई पर्यटक भिसा जारी गर्न थालिसकेको छ।
भू–राजनीतिक पृष्ठभूमि
वाङको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्त्यमा तिआन्जिनमा हुने SCO शिखर सम्मेलनमा सहभागी हुनुअघि भइरहेको हो। हाल भारतमाथि अमेरिकी उच्च भन्सार शुल्कका कारण आर्थिक दबाब बढ्दो अवस्थामा छ।
विशेषज्ञहरूको भनाइमा, विश्वमा बढ्दो संरक्षणवाद र एकतर्फी नीतिहरूबीच चीन र भारतले बहुपक्षीय संयन्त्रजस्तै SCO भित्र सहकार्य बढाउँदै सम्बन्ध सुधार्ने अवसर प्रयोग गर्नुपर्छ।
फुदान विश्वविद्यालयका प्राध्यापक लिन मिन्वाङले भने, “यो उच्चस्तरीय वार्ता चीन–भारत सम्बन्ध सुधारतर्फ लागेको संकेत हो। सीमा तनाव कम भएपछि व्यापार, लगानी र संस्कृतिमा नयाँ सहकार्यका अवसर खुल्नेछन्।”
तर विशेषज्ञहरूले अझै पनि असम्झदारी कायम रहेको जनाउँदै, दुवै छिमेकी राष्ट्रले द्विपक्षीय र बहुपक्षीय संयन्त्रहरूमा घनिष्ठ सहकार्य गर्दै सम्बन्धलाई दीर्घकालीन र रचनात्मक दिशामा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

