मुख्यसचिवले नैतिकता प्रदर्शन गरुन् : माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ।
बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले ‘कुलिङ अफ पिरियड’ प्रकरण स्मरण गर्दै मुख्यसचिवलाई यस्तो आग्रह गरेका हुन्।
निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू गर्ने विषयमा सहमति भए पनि त्यसको प्रावधान निष्क्रिय हुने भाषा समेत विधेयकमा परेको भन्दै प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।
नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको उक्त समितिले राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन्।
संसदीय छानबिनले परोक्ष रूपमा मुख्यसचिव अर्यालसहितका अन्य सरकारी कर्मचारीलाई पनि उक्त प्रकरणमा भएको गम्भीर त्रुटिमा जिम्मेवार देखाएको छ। यसै आधारमा कर्मचारीको हकमा पनि नैतिकता देखिनुपर्ने घर्तीको आग्रह छ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी स्वीकार्दै पद त्याग गर्नुभयो। तर, सोही प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न पदाधिकारीहरूले किन उस्तै नैतिक मानकको पालना गरेनन्?’ सांसद घर्तीले प्रश्न गरे।
उच्च पदस्थ कर्मचारीहरूले संविधान र कानुनको अगाडि सबै समान हुने प्रावधानको उल्लंघन हुने खालका कार्य नगर्न चेतावनी पनि उनले दिए।

