अन्ततः भण्डारीको राजनीतिक बाटो छेके ओलीले, बैठकमा बिरोध र होहल्ला

काठमाडौं । केही नेताहरुको चको बिरोध र निर्णय गर्नेबेलामा भएको होहल्लाकाबिच नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो छेकेको छ । झण्डै १२ घण्टा बैठक बसेर गएराति अबेर सकिएको एमाले केन्द्रीय कमिटिको बैटकमा अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेपछि सहभागीहरूले त्यसलाई समर्थन गरेको भन्दै सदस्यता कायम नरहने निर्णय गरिएको हो। ओलीले भण्डारीलाई पार्टीमा फर्किन नदिने प्रस्ताव गरेपछि हो–हल्लामा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकमा ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने प्रस्ताव गरेका थिए । बैठकमा उनले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताए । ‘हाम्रो पार्टीको विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, उनले भने, ‘उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’ ओलीको प्रस्ताव लगत्तै उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए । पाण्डेपछि युवराज ज्ञवाली, कर्ण थापाले प्रतिवाद गरेका थिए । उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् । त्यहीविचमा अध्यक्ष ओलीले बैठक समापन गरेका थिए । मंगलबार मात्रै विद्या भण्डारीले आफू माझ किरातकी छोरी भएको घोषणा गरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिएका बेला एमाले केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गराइएको हो। पार्टी सदस्यता नै नरहने निर्णय गराएपछि पार्टी काममा सहभागी हुन अवरोध उत्पन्न भएको छ। अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए। उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन। ’यसपछि बैठकमा केन्द्रीय सदस्यहरूले ताली बजाएका थिए। यो निर्णयमा पार्टीका उपाध्यक्ष युवराज्ञी ज्ञावाली, सुरेन्द्र पाण्डे, कर्ण थापाले असहमति प्रकट गरेका छन्। उनीहरुले नोट अफ डिसेण्ट लेखेको भएपनि ओलीले स्वीकार गरेका छैनन्। दुई दिनसम्म चलेको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि आयोगका अध्यक्षहरूले धारणा राखेका थिए। उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उनीहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको थियो भने केन्द्रीय सदस्यहरूका लागि ३ मिनेट दिइएकाे थियाे । तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिएका थिए। केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको थियो। सोमबार र मंगलबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताएका थिए। त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा अधिकांश नेताहरूको राखेका थिए। अध्यक्ष ओलीले जवाफ दिनुअघि स्थायी कमिटी सदस्य कर्ण थापाले नोट अफ डिसेण्टका रुपमा केही धारणा राख्न खोजेपछि उनलाई बोल्न दिइएको थिएन। उता केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला भंगलमा पूर्व राष्ट्रपति विद्या भण्डारीले आफु माझकिरातकाे छाेरी भएकाे भन्दै अघि बढ्ने खुट्टा नकमाउने बताइरहेकी थिइन्। आफ्ना निवासमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले खुट्टा नकमाई अघि बढ्ने जानकारी दिएको समेत बताएकी थिइन। तर, केन्द्रीय कमिटीको बैठकमा विद्या भण्डारीले पार्टीको नेतृत्व लिनुपर्छ भनेर कोही पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिएनन्। उनीहरुले ७० वर्षे उमेर हद कायम हुनुपर्छ भनेर मात्रै बोलेका थिए। बैठकमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग दिदैं कोशी, बाग्मती, मधेस, लुम्बिनी, गण्डकी र कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मिसन ८४ सफल बनाउनका लागि एकताबद्ध एमालेको विकल्प भएको बताएका थिए।

