काठमाडौं । पूर्वराष्ट्रपति भण्डारी र  माओवादी नेता नारायणकाजीबिच वाम एकताको पहल सुरु गर्ने गोप्य छलफल पछि नेपालको बामपंथी समर्थकमा खुसियाली छायको छ।यस्तै एमालेको मूल नेतृत्वमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फर्कन लागेको कुराले वामपन्थी एकताका पक्षधरहरुमा खुसीको संचार गराएको छ ।  एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादीका अध्यक्ष तथा नेकपा एसका अध्यक्षबीचको दुरी बढिरहेका बेला वाम एकताको प्रसंग हराएको थियो ।  पार्टीको सक्रिय राजनीतिमा फर्कनका लागि भण्डारीले देश विदेशको दौडाहा गरेपछि वाम एकताका पक्षधहरु यसलाई सफल बनाउन लागिपरेका हुन् ।  यसै मेसाेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेट गरे । भेटमा वाम एकताको प्रस्ताव राखेकाे स्राेतकाे दावी छ। बिहीबार दिउँसो भंगालस्थित पूर्वराष्ट्रपति निवास पुगेका श्रेष्ठले यस्तो प्रस्ताव राखेकाे पूर्वराष्ट्रपतिनिकट एक नेताले बताए ।  उनीहरूबिच करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे थियाे ।  ती नेताका अनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले पहल गर्न आग्रह गरेका थिए। तर पूर्वराष्ट्रपति भण्डारीले अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन्।   माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका थिए। असार १४ गते विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक घोषणा गरेसँगै एमालेको संस्थापन पक्षमा भुइँचालो गएको छ भने वामपन्थी दलहरूले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्। माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै सक्रिय भइसकेका छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन माओवादी केन्द्रका बैठकहरूमा सहभागी हुँदै आएका छन्। उनी पूर्ण रूपमा माओवादी केन्द्रको जिम्मेवारीका फर्केका छन्। पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको हो कि भन्ने आशंका जन्माएकाले तत्कालै भण्डारीले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ।  भण्डारीनिकट नेताहरूले नारायणकाजी श्रेष्ठसँगको भेटघाटलाई बाहिर ल्याउन चाहिरहेका छैनन्। भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी नभएको बताए। पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन्।