काठमाडौं । विगत केही समय यता अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक आजदेखि सुचारु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र अर्को विपक्षी दल नेकपा एकीकृत समाजवादीले सत्ता पक्षसँग अध्यागमन र भिजिट भिसाबार २ बुंदे सहमति गरेपछि सभामुखले असन्तुष्ट रहेका रास्वपा र राप्रपालाई पेलेरै प्रतिनिधि सभा बैठक अघि बढाएका हुन् ।  आजको बैठकमा सभामुख देवराज घिमिरेले सहमतिबारे माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । तर रास्वपा र राप्रपाका सांसदहरुले सिटबाट उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले पटक पटक आग्रह गर्दा पनि उनीहरु बस्न नमानेपछि उनीहरुको अवरोधकाबीच पाण्डेलाई बोल्न दिइएको हो ।  आफ्नो धारणा अघि सार्दै पाण्डेले भिजिट भिसा प्रकरणबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएकाले सहमति गरेको र जिम्मेवार प्रतिपक्षीको भूमिका निभाएको बताए । त्यसपछि सभामुख घिमिरेले राप्रपाका नेता राजेन्द्र लिङदेनलाई बोल्न दिए । उनले बोल्न थालेपछि अवरोध गरिरहेका दलका सांसदहरुले हल्ला गर्न खोडेपनि सिटमा भने बसेनन् ।  सभामुख घिमिरेले नेताहरुलाई बोल्न दिएसँगै अब कार्यसूचीका अन्य विषय अघि बढाउने तयारी गरेका छन् ।  भिजिट भिसा प्रकरणकाे विषय उठाएर विगत १८ दिनदेखि ११ वटा बैठक अवराेध भएका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न दिए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नता रहेको प्रमाणहरु आईरहेकाले छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताए । सांसद झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागममा भइरहेको बद्मासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप लगाएका हुन् । आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत उनको आरोप छ । उनले अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग माग गरे । समाचारमा माध्यमहरुमा भिजिट भिसा प्रकरणबारे प्रयाप्त प्रमाणहरु आइसकेको उल्लेख गर्दै गृह नेतृत्वमा लुटतन्त्र मच्चाइएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणको आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत झाले बताए । ‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो । जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरुलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अुनसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ । त्यसैले छापामा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरु आइसके । यो सबै तपाईको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ । त्यसकारण यसको छानबिन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।   त्यसपछि सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिए ।