काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेर दुवै आयोगलाई पूर्णता दिएको हो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो ।   समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (संखुवासभा)का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन् । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला (तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) सदस्य रहेका छन् । थापा नेपाली कांग्रेसका तर्फबाट सिफारिसमा परेका व्यक्ति हुन् भने गड्तौला नेकपा एमालेको सिफारिसमा नियुक्ति भएकी हुन् । थापा उच्च अदालतका पूर्व न्यायाधीश हुन । गड्तौला भने छोटो समयका लागि मुख्य सचिव बनेकी थिइन् । त्यसैगरी सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका छन् भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे हुन् । सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ।  बैठकले उनलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए। उनले लामो समय अर्थ मन्त्रालयमा काम गरेका छन्। त्यस्तै उनीसँग भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन्। पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए।