प्रचण्डको उद्घोष : ‘फुटेका माओवादी एक बनाउन मैले गर्नुपर्ने सबै गर्छु’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले आफूमाथि धेरै भरोसा गरेको बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनताले आफूमाथि धेरै भरोसा गरेको दाबी गरेका हुन्। ‘तपाईँहरूलाई कहिलेकाहीँ लाग्छ होला, बिहानै दौडेर मर्निङवाक गरेको छ। जनताको घर–घरमा पसेर फूल लिएको छ। मानिसहरू बाहिर निस्किएर अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरी आँशु निकाल्छन् बुढाबुढी, युवा युवती, बालबच्चाहरू,’ उनले भने, ‘नेताहरुको लागि यो ऊर्जा हुँदो रहेछ।’ त्यस्तै उनले अब विभिन्न धारमा विभाजित भएका माओवादीहरू एक हुनुको विकल्प नरहेको बताए। उनले एकताका लागि आफूले गर्नुपर्ने सबै गर्न तयार रहेको पनि सुनाए। उनले भने, ‘माओवादीहरु सबै एक हुन्छन् अब । त्यसमा तपाईँहरु शंका गर्नुपर्दैन । सबै आउनुको कुनै विकल्प नै छैन । मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो, सबै गर्छु मैले । यो देशमा हामीले अर्को असाधारण रिकर्ड बनाउनुपर्छ।’ प्रचण्डले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने घोषणा गरे। ‘२०८४ मा सबै एक भएर सबैले मेहनत गर्यौं भने यी भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिन्छ,’ उनले भने, ‘जनताको असली राज आउँछ भन्ने म तपाईँहरूमाझ विश्वास व्यक्त गर्न चाहन्छु। हामी सबै एकचोटी एकतावद्ध भएर अगाडि जाने हो।’ ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। ‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’ उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए। उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए। उनले माओवादीलाई विचौलियाले सरकारबाट बाहिर ल्याएको पनि आरोप लगाए। ‘विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर बाहिर आउँदा जनताले हामीप्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,’ उनले भने, ‘केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन। हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्पसहित जनतामाझ आयौँ।’