‘कसैले परिवर्तनलाई पछाडि फर्काउने मूर्खता गरेमा महँगो मूल्य चुकाउनुपर्नेछ’ – प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही राजावादीहरूले राजनीतिक परिवर्तनमाथि प्रश्न उठाइरहे पनि उनीहरू सफल नहुने बताएका छन् । काठमाडौंमा मंगलबार भएको सास्कृतिक प्रतिरोध दिवस तथा सत्य पहाडीका पुस्तक बिमोचन कार्यक्रममा प्रचण्डले केही राजवादीहरूले चाहँदैमा परिवर्तन पछाडि नफर्किने बताए । उनले भने, ‘यदि कसैले अहिलेको परिवर्तनलाई पछाडि फर्काउने मूर्खता गरेमा त्यसको मूल्य महँगो तरिकाले चुकाउनुपर्नेछ । पहिलेका राजामहाराजालाई नेपाली जनताले र संविधानले इतिहासको विषय बनाइसकेको छ । फेरि अर्को मुर्खता नगरियोस् ।’ नेपाली जनताले उदारतापूर्वक चालेका कदममा संयमित भएर बस्नुमा नै ज्ञानेन्द्र शाहको भलो हुने प्रचण्डले बताए । उनले भने, ‘जुन चलखेल गर्ने चेष्टा भएका छन्, त्यसको मूल्य महँगो हुनेछ ।’ अहिले सुरु भएको बहसले नेपाली जनतालाई चेतनशील र समाजवादतर्फ अगाडि बढ्न थप अवसर प्रदान गर्ने उनले बताए । उनले भने, ‘यो बहसले समाजवादको यात्रा फराकिलो बनाएको छ । तत्कालीन राजा ज्ञानेन्द्रको मूर्खताले पनि छिटो गणतन्त्र आउन भूमिका खेलेको थियो । ज्ञानेन्द्रले त्यो समयमा भिलेनको रूपमा गणतन्त्र ल्याउन भूमिका खेलेका हुन् । धेरै मुर्खता नगरेको भए त्यो समयमा केही समय राजा भएर बस्थे होलान् । उनले सात राजनीतिक दललाई नै लखेटे, लात्तीले हाने, जसका कारण हामीले गणतन्त्रका लागि छिटो आधार बनायौँ ।’ अहिले फेरि राजतन्त्रको कलाविहीन नाटक सुरु भएको बताउँदै प्रचण्डले यसले नेपाली जनतालाई झन् सजग बनाएको बताए । उनले भने, ‘जनतालाई सजग बनाउने भूमिका ज्ञानेन्द्रले खेलेका छन् । कथा, उपन्यास र फिल्म नायकले मात्र चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेनको रोल सक्रिय भएन भने हिरो मात्र चल्न सक्दैन । भिलेन खतरनाक भएर आइदियो भने पनि हिरोले परास्त गरिहाल्छ ।’ ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनाको गर्न। अहिले पनि नेपाली जनतालाई जागरुक हुन एउटा आधार तयार पारिदिएकोमा उनको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने,’कथा फिलिम हिरोले मात्रै चल्दैन। भिलेन पनि चाहिँन्छ उसको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ अहिले भइरहेको यही हो।’

