पार्टी भित्र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई अध्यक्ष प्रचण्डले कार्यकारी भूमिकामा ल्याउन खोजेको । उपाध्यक्षसहितको जिम्मेवारी दिन खोजेको तर उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले रोक्न खोजेको भन्ने चर्चा चलिरहेको थियो ।  उनै पासाङले  पनि त्यो कुरा सुनिसकेका थिए । आफ्ना नजिककाहरुलाई बोलाएर उनले रोक्ने खोज्नेहरुबारे चर्चा समेत गरिसकेका थिए । सार्वजनिक रुपमा समेत प्रसस्त बहस भईरहेको यस विषयमा वर्षमान र जनार्दनले सार्वजनिक रुपमा समेत बोलेका थिए । ‘राज्यको नेतृत्व गरेर त्यो पदमा पुगेको व्यक्ति पार्टी राजनीतिमा नफर्किए राम्रो तर फर्किने उहाँको चाहाना हो भने पार्टीका लागि फाइदाकै कुरा हो, स्वागत छ’ भन्ने उनीहरुको धारणा थियो ।  उनकै कारण पदाधिकारीको कार्यविभाजनसमेत रोकिएको भन्ने भएपछि सोमबारको पदाधिकारी बैठकमा यसबारे छलफल भयो ।  छलफलको पायो खोले उपमहासचिव वर्षमान पुनले । उनले यसअघि सम्माननीय पदमा पुगेका सभामुखहरुको चर्चा गर्दै सभामुखबाट फर्किएकाहरुलाई उपाध्यक्ष बनाउने प्रचलय चलेकै छ, उपराष्ट्रपतिलाई पनि सम्माननीय बनाएर जाऔं भनेको एक सहभागि नेताले समाचार दैनिकलाई बताए ।  पुनको प्रस्तावमा शक्तिबहादुर बस्नेत मौन बसे । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने असहमति जनाए ।  अर्का उपाध्यक्ष कृष्णबहादुर महराले पनि पासाङको नाम नलिईकन अनकनाउँदै बीचको भाषा बोलेको बैठकमा सहभागि एक नेताले बताएका छन् ।  आफूलाई तेस्रो वरीयतामा पुर्‍याउने गरी प्रस्ताव आएपछि बैठकमा उनले केही असहज महसुस गरेका थिए। श्रेष्ठले सम्मानित पदमा रहिसकेका व्यक्तिहरू पार्टी राजनीतिमा आउँदा पर्ने असरबारे पार्टीको धारणाले मात्रै नहुने भन्दै आमधारणा कस्तो छ त्यसबारेमा पनि बुझ्नुपर्ने राय राखेका थिए। साथै उनले यस्ता निर्णय गर्दा पार्टीभित्रको शक्ति सन्तुलनलाई पनि जोड दिनुपर्ने बताएका थिए। उनको विचारसँग उपमहासचिव हरिबोल गजुरेल पनि सहमत भएका थिए। पासाङ उपाध्यक्ष बनेमा महरा, पम्फा भुसाल,अग्नि सापकाेटा वरियतामा पछि धकेलिनेछन् । श्रेष्ठले असहमति जनाउनुको अर्को कारण पनि थियो । पुनको प्रस्तावमा उपमहासचिव शर्माले वर्षमानको प्रस्ताव ठिक छ, उपाध्यक्ष मात्रै होईन एक नम्बरको उपाध्यक्ष बनाऔं  भनेका थिए ।  वरिष्ठ उपाध्यक्ष श्रेष्ठको असहमतिपछि पुनलाई उपाध्यक्ष बनाउने प्रस्तावमा निर्णय भने हुन सकेन। त्यसपछि पूर्वउपराष्ट्रपति पुन आफैले आफूलाई उत्पादन क्षेत्रमा रूचि भएकाले त्यतैतिरको कुनै जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। उनकै प्रस्तावलाई स्वीकार गर्दै पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्र हेर्नेगरी प्रमुखको जिम्मेवारी तोकेको छ।  पुन गत कात्तिकको अन्तिम सातादेखि माओवादीको बैठकमा आमन्त्रित सदस्यका रूपमा नियमित सहभागी हुँदै आएका छन्। उनी गत पुसमा भएको केन्द्रीय कमिटी बैठकमा पनि उपाध्यक्षको हैसियतमा सहभागी भएका थिए। उक्त बैठकमा नेताहरूले उनको सहभागितबारे प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले जवाफ दिनुपरेको थियो।  केन्द्रीय कमिटी बैठकमा उपराष्ट्रपति पुन उपाध्यक्षहरूकै लहरमा बसेका थिए। उक्त बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले मञ्चमा बसिरहेका पूर्वउपराष्ट्रपति पुन फेरि राजनीतिमा आउन उपयुक्त नहुने बताएका थिए। सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रदेश इन्चार्जहरू तोक्ने निर्णय भएको छ। उपमहासचिव हरिबोल गजुरेल कोशी, उपमहासचिव मातृका यादव मधेस, सचिव हितमान शाक्य बागमती, सचिव दिनानाथ शर्मा गण्डकी, सचिव चक्रपाणि खनाल लुम्बिनी, स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन्। प्रवक्ता सापकोटाका अनुसार महासचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय पार्टीले गरेको छ।