काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो ।  हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको उनले बताए ।  ‘पार्टीले हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ । यस्तै पार्टीले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ’, बैठकपछि सापकोटाले भने ।  पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले मधेसमा उपमहासचिव मात्रिका यादवलाई इन्चार्जकाे जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए। पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए।  बैठकले पासाङलाई उनको रुचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको छ। उनको पार्टीमा कुन तहको जिम्मेवारीबारे भने अझै निर्णय भइसकेको छैन।  उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् । अन्य प्रदेशमा भने प्रदेश इन्चर्जाहरू यथावत नै रहेका छन्। कोसीमा हरिबोल गजुरेल, गण्डकीमा  दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपानी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपरिश्चममा गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन्।  बैठकले माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय गरेको सापकोटाले जानकारी दिए ।