काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरका मेयर बालेन शाह र सहकारी ठगीमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै लोकतन्त्रमा फक्रिइरहेका कोपिलालाई फुल्न दिनुपर्ने बताएका छन् । उनले नयाँ राजनीतिक शक्तिलाई कोपिलाको रुपमा चित्रण गर्दै निषेध गरेर नभई आफ्नो कमजोरी सच्याउनु पर्ने उल्लेख गरेका छन् । एमाले नेताहरु र बालेन शाहबीच बेलाबेलामा चल्ने वाकयुद्धलाई लक्षित गरी सामाजिक संजालमार्फत शनिबार दाहालले यस्तो टिप्पणी गरेका हुन् । उ नले रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीमा अनुसन्धान गर्दा सत्ता निकटलाई उनमुक्ति दिंदै आएको संकेत गर्दै शासकको डण्डा नयाँ शक्तिमाथि प्रयोग भइरहेको बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ-नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन् । जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु,’ उनले आफ्नो फेसबुक पेजमा शनिबार लेखेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ ।’ उनले जनताले नै सही र गलत फैसला गर्ने भन्दै शासकले बल प्रयोग गर्नु गलत हुने बताएका छन् । ‘बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ । सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन ’ उनले भनेका छन्, ‘यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’ दाहालले बालेन, धरानका मेयर हर्क साङपाङलाई लोकतन्त्रमा फूलेका सुन्दर फूल भन्दै आएका छन् । दाहालका स्वकीयसचिव रमेश मल्लले कांग्रेस, एमाले गठबन्धन सरकार प्रतिपक्ष, स्वतन्त्र मेयरप्रति अनुदार देखिएकाले सचेत गराउन पछिल्लो अभिव्यक्ति दिएको बताए । ‘दुई तिहाइ नजिकको सरकार अनुदार देखियो । जनमत पाएर बनेका नयाँ शक्तिलाई पेल्नु गलत हुन्छ’ उनले भने, ‘ फूल फूले पछि बास्ना दिन्छ कि बिष थाहा भइहाल्छ । त्यो जनमतले पुष्टि गर्छ । सत्ताको बलमा अनावश्यक पेल्ने काम नगर भनेर अध्यक्षले सचेत गराउनु भएको हो ।’