कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।

सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सुचना जारी गरेका हुन् ।

सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।

अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ ।

संसद् नचलेको अवस्थामा प्रदेश सभाका कुनै सदस्य पक्राउ परेमा त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने कानुनी व्यवस्था छ । सो कुराको जानकारी सभामुखलाई भएसँगै संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।

प्रदेशसभा नियमावलीको नियम १९० मा प्रदेशसभाको सदस्य पक्राउ सम्बन्धी व्यवस्था छ । सो नियमको उपनियम २ मा बैठक नचलेको अवस्थामा प्राप्त भएको सूचना सचिवालयको सूचना पाटीमा टाँस गरी प्रचारप्रसार गर्नुपर्ने व्यवस्था रहेको छ । सोही नियमको उपनियम ३ मा त्यस्तो सदस्यलाई प्रदेशसभाको सदस्यको हैसियतमा काम गर्न रोक लगाउने व्यवस्था रहेको छ ।

प्रदेश सभा नियमावली १९० को उप-नियम ४ मा प्रदेशसभाको सदस्य ३ वर्ष वा सोभन्दा बढी कैद हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्षको लागि थुनामा गएमा सभामुखले त्यस्तो सदस्यलाई निलम्बन गर्ने व्यवस्था रहेको छ ।