‘नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकताबद्ध हुन समय लाग्दैन’
काठमाडौँ । जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सारेको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएका छन् ।
जताततै कम्युनिस्ट पार्टी भए पनि उनीहरु एकता हुन नसकेको, वैचारिक, राजनीतिक एवम् संगठनात्मक विषयमा समान धारणा हुन नसकेको तथा व्यक्तिकेन्द्रीत प्रवृत्तिका कारण वामपन्थी आन्दोलन समृद्ध बन्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताको नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकतावद्ध हुन एकाध दिनभन्दा बढी समय नलाग्ने बताए। पार्टीअनुसार नै लेनिनलाई हेर्ने दृष्टिकोण रहेको र त्यसमा एकरुपता कायम हुन नसकेको तथा व्यक्तिगत स्वार्थका कारण विचारमा भ्रष्टीकरण हुन पुगेको उनको भनाइ छ । महासचिव भुसालले भने,“यतिबेला हामीले खास अर्थमा लेनिनवादलाई अङ्गीकार गर्ने हो भने घुस नखाने पार्टी बनाउनुपर्छ । त्यसो मात्रै गरियो भने पनि क्रान्ति आफैँ अगाडि बढ्छ ।” लेनिनवादको नाम जप्दै कम्युनिस्ट पार्टीका नेताले नै मानव तस्करी गरिरहेकामा उनले रोष प्रकट गरे ।
नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले नेपाली विशेषतामा आधारित भएर लेनिनले अगाडि सारेको विचारलाई थप समृद्ध बनाउनुपर्ने बताए । उनले क्रान्तिकारी पार्टी निर्माणका लागि विचार नै प्रमुख सर्त भएको धारणा राखे ।
नेकपा(क्रान्तिकारी माओवादी)का नेता जगदिशचन्द्र भण्डारीले देशमा कम्युनिस्ट नै कम्युनिस्ट भए पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभाव रहेको बताए ।