बयानमा रविले भने -१ करोड ८० लाखको सेयर पारिश्रमिकबाट कट्टा हुनेगरी लिए


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा लामिछानेले उक्त कुरा बताएका हुन् । लामिछानेले बयानमा सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा आफु नभएको बताएका छन् । उनले आफूले बचत खाता तथा लोन खाता नखोलेको भनेका छन् । बयानमा उनले भनेका छन्,‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’
लामिछानेले गितेन्द्रबावु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको बताएका छन् ।
गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘१ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिए ।’
जीबी राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् । सुर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।