मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू
सरकारले आइतबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनकि गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि यूरोपियन यूनियन(ईयू) र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले ले ईयूबाट २३ मिलियन यूरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन गरी २५ मिलियन यूरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए । यसैगरी, बैठकले जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा, विभिन्न देशमा महावाणिज्यदूत नियुक्त, काठमाडौं-मधेस द्रूतमार्ग आयोजनाका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छूट दिने निर्णय पनि गरेको छ ।