लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । पहिरोका कारण अछाममा १७ जनाको ज्यान गएको छ । एक दर्जनको उद्धारपछि अस्पतालमा उपचार गरिएको छ । छ जना अझै बेपत्ता रहेकोे बताइएको छ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा गएको पहिरोमा हालसम्म १७ जनाको मृत्यु भएको छ । घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारको निम्ति सुर्खेत लगिएको छ । केहीलाई जिल्ला अस्पताल लगिएको छ ।

प्राप्त विवरण अनुसार तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र ८ मा पाँच जनाको शव भेटिएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ ।

अछामलगायत धेरै जिल्लामा पहिरो गएको बताइको छ । क्षतिको विवरण थप हुने बताइएको छ । लगातारको वर्षाले भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ ।

उता तराईका कैलाली र कञ्चनपुरमा डुबानका सयौं परिवार विस्थापित भएका छन् । कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीमा आएको बाढी बस्तीमा पसेको छ । त्यहाँको पनि विस्तृत विवरण आइसकेको छैन । एक ठाउँको झोलुङ्गे पुल बगाएको छ ।