सुनथरालि बिमानस्थलको काम द्रुतगतिसंगै क्रेसर मेसिन उद्दघाटन

अग्निज्वाला सम्वाददाता
प्रकाशित मिति,२०७७ जेष्ठ २५ आईतवार
मान ब बिश्वकर्मा
कालिकोट । जिल्लाको नरहिरनाथ गाउँपालिकाको वडा नं १ मा अवस्थित कालिकोटको एकमात्र निर्माणाधीन विमानस्थल सुनथराली विमानस्थलको धावनमार्ग निर्माणका लागि गिट्टी बनाउने क्रेसर मेशिनको शनिवार उद्घाटन गरिएको छ ।नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले सो क्रेसर मेसिनको उद्घाटन गर्नुभएको हो । क्रेसर मेशिनले धावनमार्ग निर्माण तथा कालोपत्रेका लागि आवश्यक पर्ने गिट्टि तथा बालुवा तयार पार्ने जनाईएको छ । सो उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले जिल्लाको एकमात्र विमानस्थल निर्माणका लागि संघको बजेटलाई उचित सदुपयोग गर्न आग्रह गर्नुहुदै स्थानीय सरकारबाट लालिघाट हुदै सुनथराली विमानस्थलसम्मको सडकका लागि उचित बजेटको व्यवस्थापन गर्न आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा विमानस्थल जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
७ सय मिटरको लम्बाईमा रहेको विमानस्थलकाे घेरवारका लागि बसन्त निर्माण सेवा काठमाण्डौंले ३ करोड ४३ लाखमा घेरवार र आरआर कन्ट्रक्सन विराटनगरले ३ करोड ३३ लाखमा विमानस्थलको नेटको टावर निर्माणका लागि ठेक्का मार्फत काम गरिरहेको छ । साथै १३ करोड ८६ लाखमा विमानस्थलको धावनमार्ग निर्माणका लागि ठेक्का मार्फत गौरी पार्वती श्याम एण्ड शंकर जेभि विरेन्द्रनगर सुर्खेतले धावनमार्ग निर्माणको काम धमाधम गरिरहेको छ । ३ दशक देखिको हवाईजहाज चढ्ने कालिकोटबासीको सपना पुरा हुन विमानस्थलको टावर, धावनमार्ग निर्माण र घेरवार पछि मात्र सम्भव हुने भएको छ ।

