उनी १० दिनमा सोमबार फर्केका हुन् । उनी गत शुक्रबार नै आउने कार्यक्रम तय भएको थियो । तर थप परीक्षण गर्नुपर्ने भन्दै दुई दिन समय लम्बिएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर पत्रकारहरुलाई भने स्वास्थ्यका बारेमा केही पनि जानकारी दिएनन् ।

ओलीले ‘केही दिनमै थाहा पाइहाल्नुहुन्छ’ भन्ने प्रतिक्रिया दिएर विमानस्थलबाट बाहिरिए ।

उनको यो व्यवहारले धेरै कुराको प्रश्न खडा गरेको छ । देशको कार्यकारी बिरामी भएर विदेश जान्छ अनि आफ्नो स्वास्थ्यबारे प्रतिक्रिया दिन हिच्किचाउँछ भने त्यसको अर्थ के निकाल्ने ?

उनी सामान्य नागरिक हैनन् जसले वैयक्तिक विचार नदिँदा पनि हुन्छ । उनी राष्ट्रको कार्यकारी हुन् । उनी नागरिकका अभिभावक पनि हुन् ।

उनले आफ्नो कार्यकालमा नागरिकको अभिभावकत्व कति ग्रहण गरे त्यो उनै जानुन् तर उनको स्वास्थ्यबारे जान्ने अधिकार नागरिकलाई छ ।

अर्कातिर उनको स्वास्थ्यको विषयलाई लिएर चर्चा र हल्ला पनि उत्तिकै छ । उनी आफ्ना सल्लाहकार लिएर जानुको अर्थ के ? भन्ने पनि छ ।

किनकि यसलाई राजनीतिक भेटघाटको बहाना पनि भन्ने गरिएको छ । फेरि ओली आफैले केही दिनमै थाहा पाइहाल्नुहुन्छ नि भनेसंगै झनै ठूलो रहस्यको बाटो आफैले बनाउन थालेका छन् ।

उनी १० दिनसम्म बसेर फर्के । थप उपचारका लागि भन्दै दुई दिन समय पनि लम्ब्याए । तर फेरि पनि जानकारी दिएनन् ।

यतिसम्मकी प्रधानमन्त्री कार्यालयले पनि उनको स्वास्थ्यबारे जानकारी दिएन ।

त्यसो त अर्को शंका के छ भने उनी सिंगापुर जानुअघि नेपाली सेनाको अस्पताल छाउनीमा उपचार गराएका थिए ।

त्यहाँ उनको अवस्था सामान्य रहेको बताइएको थियो । सामान्य भन्दाभन्दै पनि उनी सिंगापुर हानिए ।

उनी मिडियासंग चिंढिएका जस्ता पनि देखिन्छन् । हुनसक्छ कि उनले जे गरिरहेका छन् त्यसको वाहीवाही मिडियाले गरोस् भन्ने होस् ।

मिडिया उनका आफ्ना अरिंगाल हुनै सक्दैनन् । भएको भए त्यो पनि पूरा गर्थे होला । केही मिडियालाई उनले कब्जामा लिएका छन् त्यसलाई अन्यथा पनि नठानौं । राजनीतिक प्रभावबाट नेपाली मिडिया मुक्त हुन समय लाग्छ ।

प्रश्न उठ्छ अरु कुनै कारणले सिंगापुर गएका होउन् र यसपटक उनलाई झुठो नबोलौं भन्ने पनि लागेको होला ।

तीन चार दिनमा थाहा पाइहाल्नुहुन्छ नि भनेर प्रतिक्रिया दिन नखोज्नुको पछाडि के छ ? त्यो तीन चार दिन पनि भइसकेको छ । त्यस्तो कुनै संकेत उनले गरेका छैनन् ।

कतै मिडियालाई बेवास्ता गर्न खोजेका त हैनन् ? र पनि मिडियाले पछ्याउनु  चौथो अंगको धर्म हो । उनको स्वास्थ्य कुनै व्यक्तिको विषय हुनै सक्दैन ।

उनले ट्वीटरबाट जानकारी गराए । मिडियालाई दिनुभन्दा ट्वीटरबाटै जानकारी गराउन मुनासिब सम्झे । त्यो ट्वीटरबाट पनि समाचार बनाउने त मिडियाले नै हो ।

उनले आफ्नो स्वास्थ्यबारे चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । त्यहाँ पनि सूचना भने पूरा दिएका छैनन् । के भएको थियो र अहिले के छ भन्नेबारेमा सूचना दिन उनी चुकेका छन् ।

खड्किएको कुरा के हो भने यसअघि विदेश जाँदा र फर्कदा मिडियालाई जानकारी गराउन उनले पत्रकार सम्मेलन नै गर्ने गर्दथे ।

आफू नभएका बेलामा देशमा यस्तो भयो र उस्तो भयो भनेर आफैले बढाइचढाइ प्रतिक्रिया पनि दिने गरेका थिए ।

तर यसपटक उनले प्रतिक्रिया दिने आवश्यकता ठानेनन् । सरकारका तर्फबाट पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएन ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनी बेला बेला स्वास्थ्य परीक्षणका लागि विदेश गइरहन्छन् । यस पटक पनि सिंगापुर गए । उनको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य जाँच गरिएको थियो ।

प्रश्न फेरि तेर्सिन्छ – किन गुपचुप लुकाइँदैछ सूचना ? किन कोही जवाफदेही बन्दैनन् ? देशको ढुकुटी सकाएर विदेश गएर उपचार गराएर आउने अनि जनतालाई जनतालाई जानकारी नदिने ? जसको कर खाएर उपचार गराएर आएका हुन् उनले उत्तरदायी भूमिका खेल्नु नपर्ने ?

दुई तिहाइको सरकारले धेरै गलत काम गरेको छ । कुनै पनि काम सही नगरेका बेलामा एक जना गरीव नेपालीले एउटा सिटामोल र जीवनजल नपाएर मर्नुपर्छ ।

तर तिनैको रगतको थोपा थोपाबाट जम्मा भएको राज्यको ढुकुटी उडाएर पनि जवाफ दिनु नपर्ने भन्ने सुशासन कुन मुलुकमा छ ?

पहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युएई जानु । त्यसपछि ओली जानु र लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुका पछाडि अनेक शंका र उपशंका उब्जिएका छन् ।

बाघ कराउनु र बाख्रो हराउनु संगसंगै भएको पक्कै हैन । प्रधानमन्त्री जवाफदेही बनुन् ।