यौन क्षमता र शुक्रकिट बढाउन बदाम र ओखर खानुस्

काठमाडौं । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट जस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कूल संख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन् । पाश्चात्य जगतमा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको संख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो । शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाई दिने प्रमाण पनि भेटिएको छ । अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ । झण्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ ।
वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे । एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो, अर्को समूहको भोजनमा परिवर्तन गरिएन । बदाम आदि फल खाने समूहको शुक्रकीटको संख्या र गुणमा सुधार आयो । यी सबै विश्वस्वास्थ्य संघठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन् । र, यिनको पुरुषको प्रजनन क्षमतासँग सम्बन्ध हुन्छ ।
ओमिगा–३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन् । बदाम र ओखर जस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुन्छन् । ‘स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदैछन्’, शोधको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा. अल्बर्ट सालास–हुएटोसले भने ।
‘’प्राज्ञिक रूपमा चाखलाग्दा’
तर अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यो शोधको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागू होला कि नहोला त्यो स्पष्ट नभएको शोधकर्ताहरूले बताएका छन् । सो शोधमा संलग्न नभएका शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एवम् पुरुष प्रजनन अङ्गमा हुने रोगका विशेषज्ञ आलन पेसीका अनुसार बदाम र ओखर ख्वाइएका पुरुषहरूमा शोधको परिधिमा नपरेका अन्य सकारात्मक प्रभावहरू पनि भएका हुनसक्छन् ।
भ्रुणशास्त्रमा विशेषज्ञता भएकी चिकित्सिक भर्जिनिया बोल्टनले यी खोजहरू ’प्राज्ञिक रूपमा चाखलाग्दा’ भए पनि यिनले कसरी गर्भाधानको सम्भावना बढाउँछन् त्यो भन्न भने असम्भव रहेको बताइन् । ‘तर हामीले बिरामीलाई मदिरा नपिउन, धूमपान नगर्न र स्वस्थ आहारविहार गर्न उत्प्रेरित गरिराख्नु पर्छ’, उनले भनिन् । बीबीसी बाट ।

