काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेकोे छ । मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने रकम बढी भएका कारण गत आर्थिक वर्षमा मुलुक शोधनान्तर बचतमा रहेको हो ।

अर्थतन्त्र धिमा गतिमा रहे पनि मुलुकको अर्थतन्त्र भने सबल भएको तथ्यांक नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको विवरणले देखाएको छ ।

– रेमिट्यान्स बढ्यो, आयात तथा निर्यातमा कमी

– शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

कोरोना र लकडाउनका कारण सुस्ताएको नेपाली अर्थतन्त्रमाथि उकासिएको सर्वसाधारण र व्यवसायीले अनुभव नगरे पनि केन्द्रीय बैंकको तथ्यांकले नेपालको अर्थतन्त्र लयमा नै रहेको देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार राज्यसँग अहिले कुल विदेशी विनिमय सञ्चिती ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । सो सञ्चितीले १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था रहेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती अघिल्लो आवको तुलनामा गत आव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा शोधनान्तर घाटा बढेर बाह्य क्षेत्रमा दबाब बढेपछि सरकारले आठ महिनाभन्दा लामो समय केही वस्तुको आयातमा प्रतिबन्ध लगाएका कारण बजार सुस्ताएको थियो भने मुलुकको अर्थतन्त्र मजबुत भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको शोधानान्तर स्थिति ह्वात्तै १ वर्षको अन्तरालमा २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४ दशमलव ७ प्रतिशतले र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो ।

यसैगरी, रेमिट्यानस आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव २ प्रतिशत र अमेरिकी डलरमा १२ दशमलव १ प्रतिशतले बढेको छ । गत आवमा कुल १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको चालू खातामा पनि उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको चालू खाताको नोक्सानी गत आर्थिक वर्षमा घटेर ७२ अर्ब १६ करोडमा झरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता ५ अर्ब १७ करोड अमेरिकी डलरले घाटामा रहेकोमा गत आर्थिक वर्षमा ५५ करोड ७१ लाख डलरमा झरेको हो ।

यसैगरी, गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रहेको थियो ।

विदेशबाट डलर भित्रिएको देखिए पनि गत वर्ष विदेश पढ्न जाने नेपाली विद्यार्थीले १ खर्ब रुपैयाँ लगेको देखिएको छ । यसैगरी, भ्रमणमा जाने नेपालीले पनि ४४ अर्ब बाहिर लगेको तथ्यांक रहेको छ । अघिल्लो वर्ष भ्रमणमा जानेहरूले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए । विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ मात्र रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

गत आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आव २०७८÷७९ मा पढ्नका लागि विदेश जानेहरूसँगै ६७ अर्ब ७० करोड रुपैयाँ बिदेसिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत ७ दशमलव ७४ प्रतिशतले मूल्यवृद्धि भएकोे छ । अघिल्लो आर्थिक वर्षमा मूल्यवृद्धि ६ दशमलव ३२ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७ दशमलव ५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७ दशमलव ५६ प्रतिशत र हिमालमा ७ दशमलव १२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सो क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ७३ प्रतिशत, ६ दशमलव ४१ प्रतिशत, ६ दशमलव ८७ प्रतिशत र ६ दशमलव शून्य ७ प्रतिशत रहेको थियो ।

गत आवमा कुल ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको पनि नेपाल राष्ट्र बैंकको तथ्यांक रहेको छ ।

त्यस्तै, बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर १ खर्ब ८ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल सरकारको कुल कर्जा २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सरकारको बाह्य ऋण रकम १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँबराबर छ । सरकारको कुल ऋण रकम एक वर्षको अवधिमा २ खर्ब ८ अर्ब बढेको हो । २०७९ असार महिनासम्म सरकारको कुल ऋण रकम २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार २०८० असार मसान्तसम्म इजाजतप्राप्त ‘क’ तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५ सय ८९ पुगेको छ ।

२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ५ सय २८ रहेको थियो ।

२०८० को असार मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १ सय १२ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ८ प्रतिशतले बढेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब पुगेको छ ।

राजधानी दैनिक बाट