जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक पटक मधेसवादी शक्तिलाई समाप्त पार्ने शासकले यस पटक पनि मधेसी शक्ति समाजवादी पार्टीलाई सिध्याउन गरिरहेको प्रयास सफल नहुने टिप्पणी गरेका छन्।

‘मधेसी शक्तिलाई सिध्याउने शासकको सपना न पहिला पूरा भयो न कहिल्यै हुन्छ’ सिरहाको धनगढीमाईमा जसपाले गरेको वृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै उनले भने।

अध्यक्ष यादवले गौर हत्याकाण्डबारे सरकारले पीडित भनिएकासँग गरेको सहमतितर्फ संकेत गर्दै भने, ‘मधेसको शक्तिलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। तर, यो सफल हुँदैन्।’

‘मधेस र मधेसीलाई समाप्त पार्न खोज्ने आफैं समाप्त हुन्छ’ यादवले भने, ‘कुनै पनि ताकत अब मधेस र मधेसीलाई गुलाम बनाउन सक्दैन। अब मधेसी २१ औं शताब्दीको संगठित र जागरूक मधेसी हुन कसैको सामुन्ने झुक्ने बाला छैन। यो देशमा जसपा रहँदासम्म मधेस र मधेसीमाथि कुनैपनि शक्तिले आँखा देखाउन सक्दैन अब मधेसको स्वाभिमान रक्षाका लागि अन्तिम साससम्म लडिरहन्छु।’

उनले नागरिकताको समस्यालाई सम्बोधन गराउन मात्र नभई समावेशी लोकतन्त्र स्थापनाको जग पनि मधेस आन्दोलन भएको जिकिर गरे।

‘देशमा नागरिकताको समस्यालाई सम्बोधन गराउन मात्र होइन समावेशी लोकतन्त्र स्थापनाको जग पनि मधेस आन्दोलन हो’ उनले भने, ‘मधेस आन्दोलनको बलमा केही उपलब्धि हासिल भएका छन्। केही बाँकी छन्। संविधान संशोधनमार्फत साशकीयस्वरुपमा परिवर्तनको माग अझै पूरा भएको छैन। यसका लागि निरन्तर दबाब दिइरहेका छौं। अहिलेको संसदीय व्यवस्थाअनुसार देश प्रगतितर्फ अगाडि बढ्न सक्दैन।

सङ्घीयता आयो तर प्रहरी, कर्मचारी प्रदेश सरकार मातहत आउन नसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘यसका लागि सरकारको नेतृत्वसँग पटक पटक कुरा उठाइरहेका छौं। संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेश र प्रदेश सरकारलाई अधिकार सम्पन्न बाउनुपर्छ। प्रदेश बलियो नभई सङ्घीयता बलियो हुन सक्दैन। प्रदेश सरकार छ तर प्रहरी प्रशासन छैन। प्रहरी बिनाको सरकार दुनीयामा कहीँ छ ? उनले प्रश्न गरे।

पहिलो मधेस आन्दोलनभन्दा पलिला मधेसी, धोतीभई, बिहारी, भन्थे, हेप्थे ०६३ को माघे मधेस आन्दोलन अघिको समय सम्झँदै अध्यक्ष यादवले भने, ‘अहिले त्यसो भन्नेहरु नै अहिले गौरवका साथ आफूलाई मधेसी भन्छन्। यो मधेस आन्दोलनको देन हो। मधेसमा मधेस सरकारको निर्माण भएको छ। संसारमा छाती ठाकेर हामी मधेसी हौं र मधेस हाम्रो प्रदेश हो भन्न सक्ने भएका छौं यो गौरवको कुरा हो।’

मधेस आन्दोलन भन्दा पहिला मधेसी, दलित, महिला, मुस्लिमलगतको कहिँकतै प्रतिनिधित्व थिएन अध्यक्ष यादवले सम्झाए, ‘नामका लागि एकआध जनालाई राखिदिन्थे। तर, मधेस आन्दोलनपछि वडादेखि संसद्मा दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी, सीमान्तकृतको समावेशी प्रतिनिधित्व व्यावस्था भएको छ’ उनले भने, ‘यो समावेशी लोकतन्त्र मधेस आन्दोलन र आजको जसपाको देन हो।’

कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र महतोले गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जोडे फेरि मधेसमा आगो बल्ने चेतावनी दिए।

मन्त्री महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर सरकारले अनुसन्धान अघि बढाए मधेसमा फेरि ०६३/०६४ जस्तो आगो बल्ने बताए। मन्त्री महतोले राजनीतिक आन्दोलनमा भएका घटनालाई उछालेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको पनि बताए।

घटनाकै बेला दुनीयाभरका मानवअधिकार, न्यायिक समितिले अनुगमन गरी तयार पारेको प्रतिवेदनलाई किनारा गर्दै अध्यक्ष यादवलाई घटनामा जोड्न खोज्नु दुर्भाग्यपूर्ण हो, उनले भने।

कार्यक्रममा जनमत पार्टीबाट प्रदेशसभा उम्मेदवार बनेकासहित सैयौं नेता कार्यकर्ता जसपामा प्रदेश गरेका थिए।

नागरिक दैनिक बाट