काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निष्कर्षमा पुगेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकको सुरुमै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो नयाँ राजनीतिक परिस्थितिनुसार राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने ’boutमा स्थायी कमिटीका सदस्यलाई धारणा राख्न आग्रह गरेका थिए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टीले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताए । बैठकमा नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने सुझाव आएको उनले बताए । ‘कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दियो,’ पौडेलेले भने, ‘राजनीतिमा नयाँ परिस्थिति निर्माण भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं भन्ने हाम्रो मत हो, यसको मतलव एमालेलाई बाहिर राखेर सहमति गरौं भन्न खोजिएको होइन ।’

मिश्रित संसद् रहेकाले संसद्को पाँचवर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने उनले बताए ।

‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको छ,’ पौडेलले भने ।

के गर्छ एमाले ?
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निष्कर्षमा माओवादी केन्द्र पुगेपछि अब सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) के गर्छ ? भन्ने चासो सबैतिर छ । सरकार गठन गर्ने समयमा एमाले, माओवादी केन्द्रसहितका सत्तारूढ दलका बीचमा मुख्य पद बाँडफाँट भएको थियो । उपराष्ट्रपति र प्रधानमन्त्री माओवादी केन्द्रले, राष्ट्रपति र सभामुख एमालेले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिने सहमति सत्तारूढ दलमा भएको थियो ।

प्रधानमन्त्रीमा एमाले र माओवादी केन्द्रले आलोपालो सहमति अनुसार अढाईअढाई वर्ष हुने सहमति थियो । संघ र प्रदेशमा भएको सहमतिनुसार सबै कुरा अगाडि बढेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सोही सहमतिनुसार हुनुपर्ने अडानमा एमाले छ । तर, सत्तारूढ दलभित्रको सहमतिविपरीत माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने भन्दै ३ माघमा विश्वासको मत दिने दलका बीचमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेपछि एमाले झस्किएको छ ।

सरकार गठन गर्ने बेलाको सहमति कार्यान्वयन नहुने हो कि ? नभए के गर्ने ? भन्ने ’boutमा एमाले नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकार गठनका बेला भएको सहमति माओवादी केन्द्रले पूर्णरूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

‘कांग्रेससँगको छलफलमा बालुवाटारमा जब अपमानित भएपछि बालकोट (केपी ओली निवास) मा एमाले र माओवादीका बीचमा नयाँ सहमतिनुसार नै उहाँ (प्रचण्ड) प्रधानमन्त्री बन्नुभयो,’ रिजालले भने, ‘हामीलाई लाग्दैन कि उहाँले त्यो सहमति तोड्नुहुन्छ । बालकोटको सहमति सबैले कार्यान्वयन गर्छन् ।’

राजधानी दैनिक बाट