माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले यसअघि पाएको ‘इन्टिग्रिटी आइकन’ अवार्ड खोसिएको छ।

लेखा शाखाकी एक कर्मचारीसँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईले सन् २०१९ मा पाएको ‘इन्टिग्रिटी आइकन’ खोसिएको हो।

एकान्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिएका छन्। अवार्ड पाएपछि राईले नेपालको प्रशासनिक क्षेत्रमा असल आचरण र कुशल कार्यशैलीले अरूलाई पनि प्रेरित गर्ने विश्वास रहेका बेला भिडियोमा बाहिरिएको अमर्यादित कार्यले संस्था स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ।

भिडियो आएपछि ल्याबले राईलाई २४ घण्टाभित्र भिडियोमा आएका तथ्यबारे स्पष्ट पार्न भनेको थियो। जबाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु, समग्र आइकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छ’ भन्ने उल्लेख गरे पनि अवार्ड रद्द गरिएको आइकन परिवारले जनाएको छ।

विज्ञप्तिमा राईले कार्यक्षेत्रमा अमर्यादित व्यवहार गरेको भन्दै त्यसपछि खेद व्यक्त गरिएको छ। राई इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनलाई ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ प्रदान गरिएको थियो।

सन् २०१४ यता प्रत्येक वर्ष पाँच कर्मचारीलाई यो अवार्ड प्रदान गरिन्छ। अहिलेसम्म ४५ जनालाई अवार्ड प्रदान गरिएको संस्थाका सहायक निर्देशक सुरेश पन्तले बताए।

‘यो अवार्डको निश्चित मापदण्ड र नियम छ, त्यसअन्तर्गत जसले यो अवार्ड पाउँछ, आइन्दा कुनैपनि अनैतिक गतिविधि, व्यवहार र आचरण मबाट हुनेछैन भन्ने प्रतिबद्धतामा हस्ताक्षर गराइएको हुन्छ,’ पन्तले नागरिक न्युजसँग भने, ‘तर, राई संलग्न भएको भिडियो बाहिरिएपछि उनले गरेको प्रतिबद्धता उल्लंघन भएको ठहर गरी अवार्ड रद्द गर्ने निर्णय भएको हो।’

यद्यपि, चुलाचुलीकै प्रमुख प्रशासकीय अधिकृत रहेका बेला राईले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। तर, घटना बाहिर आउन नदिई दुवै पक्षलाई राखेर ‘सामसुम’ पारिएको थियो।

गत असारमा तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज मंगलबार बाहिरिएको थियो। अहिले भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेनसमेत गरेको देखिन्छ।

राई यसअघि नै पालिकाबाट सरुवा भइसकेका छन्। भिडियो बाहिरिएपछि बिहीबार यसै विषयमा छलफल गर्न गाउँ कार्यपालिका बैठक बसेको थियो। तर, बैठकको निर्णय शुक्रबार मात्रै सार्वजनिक गर्ने गाउँपालिकाले जनाएको छ। पालिकाले सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने स्रोतले जनाएको छ।

केही साताअघि गाउँपालिकाको कार्यालयमा आगलागीसमेत भएको थियो। तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन। केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र यौन क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए। अहिले यस्तो भिडियो बाहिरिनु र भिडियोमा टेबुलमुनिबाटै आर्थिक लेनदेनसमेत गरेको देखिनुले घटनालाई अझ ‘रहस्यमय’ बनाएको छ।

नागरिक दैनिक बाट