नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन पहिलो संशोधनविरुद्ध परेको रिटमा अन्तरिम आदेश हुने वा नहुने भन्ने’bout जेठ २६ गते दुवैपक्षको बहस सुन्ने भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरूद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार आदेश जारी गरेको हो ।

राष्ट्रपति कार्यालयलगायतका विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि इजलासले आदेश दिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै नागरिकता ऐनको पहिलो संशोधन कार्यान्वयन हुन सक्ने छैन । संघीय संसद्का दुवै सदनले पारित गरेर तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि पहिलोपटक २०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको थियो । भण्डारीले विधेयक प्राप्त भएको १५ औं दिन साउन २९ मा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सन्देशसहित संसद्मा फिर्ता गरेकी थिइन् । त्यसपछि उक्त दुवै विधेयकलाई संघीय संसद्ले पुनः हुबहु पारित गरेर २०७९ भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो ।

संवैधानिक व्यवस्था उलंघन गर्दै तत्कालीन राष्ट्रपति भण्डारीले दोस्रोपटक संसद्बाट कुनै विधेयक पारित भएर आएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने व्यवस्थाअनुसार काम गरेकी थिइनन् । राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई थन्किएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । मन्त्रिपरिषद्ले नागरिक विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेको थियो भने सत्तारूढ दलका नेताले पनि एकल र संयुक्तरूपमा उक्त आग्रह गरेका थिए ।

संविधानमा दुईपटक पारित भएर आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भएन भने के गर्ने भन्ने व्यवस्था छैन । तर, राष्ट्रपति पौडेलले संविधानमा नै नभएको व्यवस्था हुँदा पनि प्रमाणीकरण भएपछि संसद् र सडकमा पनि विरोध भएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले तत्कालीन राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण नभएकाले ‘विभिन्न अवस्था र स्थिति’समेत उल्लेख गरी मन्त्रिपरिषद्को जेठ १२ को बैठकको निर्णयले विधेयक प्रमाणीकरण गर्न लेखी आएकाले संविधानको धारा (६१) को उपधारा (२) (३) र (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गरेको छु’ भन्ने व्यहोरा उल्लेख गर्नु भएको विज्ञप्तिमा जनाएकी छन् । जबकि, धारा (६१) का चारवटै उपधारामा विधेयक प्रमाणीकरणसम्बन्धी कुनै व्यवस्था छैन । ती उपधाराले त ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने’ जिम्मेवारी तोकेका छन् । संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरणको व्यवस्था गरिएको छ ।

नागरिकता विधेयक कहिले के भयो ?
संविधानमा दुईपटक पारित भए २०७५ सालमा दर्ता गरिएको विधेयक फिर्ता– २०७९ असार २४
नयाँ विधेयक दर्ता– २०७९ असार २४
प्रतिनिधि सभाबाट विधेयक पारित– २०७९ साउन ६
राष्ट्रिय सभाबाट विधेयक पारित– २०७९ साउन १२
पहिलोपटक प्रमाणीकरणका लागि पठाइएको– २०७९ साउन १६
राष्ट्रपतिबाट सुझावसहित विधेयक फिर्ता– २०७९ साउन २९
प्रतिनिधि सभाबाट विधेयक पुनः पारित– २०७९ भदौ २
राष्ट्रिय सभाबाट विधेयक पुनः पारित– २०७९ भदौ १७
दुवै सदनबाट पुनः पारित गरी प्रमाणीकरणका लागि पठाइएको– २०७९ भदौ २०
(१५ दिनभित्र (२०७९ भदौ ४ गतेभित्र) प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि नगरिएको)
मन्त्रिपरिषद्बाट नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह– २०८० जेठ १२
राष्ट्रपतिबाट नागरिक विधेयक प्रमाणीकरण– २०८० जेठ १७
सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश–२०८० जेठ २१

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *