नेपाल ८ वर्षपछि विश्वकपमा

काठमाडौं । नेपाली युवा राष्ट्रिय क्रिकेट टोली ८ वर्षपछि आईसीसी यू–१९ विश्वकप पुगेको छ । एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)माथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुग्न सफल भएको हो । यू–१९ विश्वकप श्रीलंकामा हुँदै छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । यसअघि नेपालले सन् २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यू–१९ विश्वकप खेल्न सकेको थिएन ।

२०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डकवर्थ लेविस पद्धतिका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । त्यही १ रनका कारण २०२० मात्रै होइन २०२२ को पनि विश्वकप खेल्न पाएन । सन् २०२१ मा कोरोनाको कारण यू–१९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन । पछिल्ला पाँच छनोटको प्रदर्शनको आधार मान्दा यूएई अघि रहेको थियो ।

यूएई अघि रहनमा त्यही १ रनको जित निर्णायक बनेको थियो । सन् १९८८ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपालले सन् २००० मा डेब्यु गरेको थियो । नेपालले सन् २००० देखि २०१६ सम्म सातपटक यू–१९ विश्वकप खेलेको थियो । नेपालले सन् २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो ।

त्यसपछि २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै नेपाल प्लेट च्याम्पियन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले दिएको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो ।

नेपाललाई नाटकीय जित दिलाउन स्पिनर दिपेश कँडेलले ह्याटिकसहित ५ विकेट लिए । यूएईलाई जितका लागि ८ रन चाहिँदा दीपेशले ४८औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएका थिए । अन्तिम ३ बलमा दीपेशले लगातार ३ विकेट लिएपछि नेपालको जित पक्का भयो ।

यूएईलाई जितका लागि ८ रन चाहिँदा दीपेशले लगातार ३ विकेट लिँदै नेपाललाई विश्वकपमा पु¥याए । इथान डी सोल्झाले सर्वाधिक ५० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । ओपनर अर्यान्श शर्मा ३२ रनमा बोल्ड भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै यूएईलाई राम्रो सुरुवात दिलाएका थिए ।

अर्यान्शको विकेटसँगै नेपालले ५ रनको अन्तरमा थप २ विकेट लिँदै यूएईलाई ७२–३ को अवस्थामा पु¥याएको थियो । अर्का ओपनर अर्यान सक्सेना ३४ रनमा आउट भए । कप्तान आयन खान शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो । ध्रुव पराशरलाई १७ रनमा पेभेलियन फर्किए । हेमन्त धामी र सुवास भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन ओभलमा बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देवबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काए ।

उत्तमले ३६ रन जोडे । यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । ओपनर दीपक बोहरा रोयल डक आउट भए । ओपनर अर्जुन कुमाल ३ रनमा क्याच आउट भए । आकाश त्रिपाठी ९ रनमा बोल्ड गरे । विशालविक्रम केसी ३८ रनमा एलबीडब्लू आउट भए । मिलन बोहराले १० रन जोडे । हेमन्त धामी १३ रनमा आउट भए ।

दीपेश कँडेल १५ रनमा आउट भए । ध्रुव परासरले ३ तथा कप्तान आयन खान र हरितहर्षले समान २ विकेट लिए । यसैबीच विश्वकपमा पुग्न सफल नेपाली युवा टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *