भक्तपुर आउने पर्यटकहरुको संख्या ह्वातै बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा भक्तपुर आउने पर्यटकहरुको संख्या तेब्बर भन्दा बढिले बढेको हो।

आर्थिक वर्ष २०७८/७९ मा जम्मा ५३ हजार ५ सय ६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए। आर्थिक वर्ष २०७९/८० मा भने १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ।

२०७९/८० मा आएका १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन्।

सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट भक्तपुर नगरपालिकालाई १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ। यसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ।

आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा जम्मा ५३ हजार ५ सय ६० जना पर्यटकहरू भक्तपुर पुगेको र उनीहरुमध्ये गैरसार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार ४ सय ७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ।

आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो। यसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो।

आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या वृद्धि भएको हो। यसअन्तर्गत गैर सार्कमा ६४ हजार २ सय ४७ जना र सार्क र चीनका ४९ हजार ८ सय ४५ जना पर्यटकहरु रहेका छन्। त्यस्तै आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो।

भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्क अनुसार आ.व. २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इड्डल्याण्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन्।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमल विनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राम मन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ। शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको छ। साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई रु. ५००।– शुल्क संकलन गर्दै आएको छ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसग उठाउँदै आएको पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताए । नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुर एक पटक पुग्नैपर्ने गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै आएको उनले बताए।

भक्तपुर नपामा हाल दैनिक औसतमा ४/५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ। भक्तपुरमा पर्यटकहरूको आगमनसँगै भक्तपुरका व्यवसायीहरु पनि खुशी छन् र भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढेको छ।

पर्यटन सेवा केन्द्रका कर्मचारी मुरज दिदियाले नगरपालिकालेले पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको बताए। हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारीहरु कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको उनले जनाए।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटा भन्दा बढी सम्पदाहरूको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न गरिसकेको छ भने दर्जनौँ सम्पदाहरूको पुनः निर्माण र जीर्णोद्धार कार्य चालु छ। समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरूलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरूसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ।

भक्तपुर नपाले हालै भक्तपुर भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्राको सुरुवात गरेको छ भने हरेक वर्ष विश्व पर्यटन दिवस, विश्व सम्पदा दिवस, टुरिष्ट गाईड दिवसजस्ता नियमित दिवसहरु मनाउँदै आएको छ।

भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहहरुलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ। भक्तपुर नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रयास समेत गरिरहेको छ।

पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गर्‍यो। साथै नयाँ आर्थिक वर्षमा पनि यस्ता गतिविधिलाई चालु राख्दै नयाँ नयाँ कार्यक्रमहरू थपिँदै लाने नगरपालिकाको योजना रहेको छ।

नागरिक दैनिक बाट