सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन
आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिनु भएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभयो ।
“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उहाँले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देन दिनुभयो ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भन्नुभयो ।
मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराउनुभयो ।