सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँको आउने जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो की होइन । क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार, आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ,’ ओलीले भने, ‘उहाँको संलग्नता छ की छैन ? सानो तिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहिँ संलग्नता भएको छ की छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्रोको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो, तर यो त बत्तमिजीको कुरा मात्रै होइन, गैर जिम्मेवार हद भयो यो । जथाभाबी बोल्ने गृहमन्त्री भएर ? जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अनि अर्को कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने ? अरूलाई । गृहमन्त्रीमाथि मुद्दा हाल्ने की नहाल्ने ? गृहमन्त्रीले कोर्ट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ?’

ओलीले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए । उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै प्रश्न पनि गरे । ओलीले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न पनि चेतावनी दिए ।

‘यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याइकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस् । कहीँ भएपनि पहिला पनि सुन काण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले, फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ । यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला तर बोकाउने को ? कसले बोकायो ? त्यसकारण यो ढाकछोप हुन सक्दैन,’ ओलीले भने । उनले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रालय मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न पनि गरे । ओलीले एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति पनि आपत्ति जनाए ।

सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको पनि आरोप लगाए । उनले अनियमितता गर्नेहरूलाई अब छुट नहुने बताए । ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइकन एमालेले नछोड्ने बताए ।

‘उहाँको पत्रिका नयाँ पत्रिकाले सुरुमै बोल्नु च्याम्बरको अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको अधिवेशनमा व्यापारी नभएर को हुन्छ ? किसान हुन्छ, व्यापारी त हुन्छ । त्यो फोटो छाप्छन् । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्ने, ध्यान कता मोड्न खाेजेको ? के छोप्न खोजेको ? आकाशतिर चिल देखाएर यता के लुकाउन खोजिँदै छ । म नयाँ पत्रिका गृहमन्त्री जस्ताहरूलाई सोध्न चाहन्छु । के छोप्न खोजिँदै छ ? अबको समयमा कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन,’ ओलीले भने ।

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताए ।

उनले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गरेका छन् ।