काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै वाहवाही कमाएका तीन जना प्रहरी अधिकृत हुन् ः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवाली, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय डा. मनोज केसी र दानबहादुर कार्की ।

यी तीन जनामध्ये शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका ज्ञवालीलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिसकेको छ । उपत्यका प्रहरी कर्यालयको नेतृत्व बहन गरेको साढे चार महिनामै ज्ञवालीलाई त्यहाँबाट हटाइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका डा. केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र काठमाडौं प्रहरी प्रमुख कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गर्नेगरी तयारी गरिएको छ । उनीहरू दुवैलाई सात महिनामै हटाउन लागिएको हो । सामान्यतया प्रहरीमा ‘इन्चार्ज’लाई एक वर्षसम्म काम गर्न दिने गरिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरेका यी तीनै जनालाई एक साथ सरुवा गरेपछि अनुसन्धान प्रभावित हुने चिन्ता बढ्न थालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नै लागेका बेला सरकार उनीहरूप्रति ‘सकारात्मक’ नहुँदा अनुसन्धान प्रभावित हुने चिन्ता बढ्न थालेको हो ।

वास्तवमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भूमिका महŒवपूर्ण रहेको छ । यी दुवै निकायलाई उपत्यका प्रहरी कार्यालयको नेतृत्वको दह्रो समर्थन र साथ सहयोग रहेको थियो । यी तीन निकायको नेतृत्वको ‘ट्युनिङ’ मिलेकैले शरणार्थी प्रकरणको अनुसन्धानमा ‘उच्च राजनीतिक नेक्सस’ समेत उजागर गर्न प्रहरी संगठन सफल भएको थियो ।

तर, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यी तीनै जना, विशेषगरी एआइजी ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसीमाथि ‘सकारात्मक’ नहुँदा उनीहरू हट्नुपर्ने अवस्थामा पुगेका हुन् । स्रोतका अनुसार देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष केही समययतादेखि उनीहरूलाई हटाउन निरन्तर दबाब दिइरहेका थिए । उनको दबाबका अगाडि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ ‘निरीह’ बन्न पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ जाहेरी लिएको सार्वजनिक भएपछि सत्तारूढ दल कांग्रेसका सभापति देउवा सशंकित बनेको स्रोतको दाबी छ । त्यहीबीच अनुसन्धान अघि बढाउने मुख्य अधिकारीलाई सरुवा गर्न उनले सरकारसमक्ष दबाब दिँदै आएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले केही दिनअघि मात्रै थप १८ जना पीडितको जाहेरी लिएको थियो । गोरखा, ललितपुर, चितवन, लमजुङ, सुनसरी, सिन्धुपाल्चाके र काठमाडौं समेतका जिल्लाबाट गरी ती १८ जनाबाट करिब १ करोड ८५ लाख ९२ हजार ठगी भएको भन्दै किटानी जाहेरी परेको थियो । पीडितले तीनवटा छुट्टाछुट्टै जाहेरी दर्ता गरेका थिए । त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले सक्कल जाहेरीसहित अरू कागजात आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको थियो ।

प्रहरीले यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान हुने बताउँदै आएको थियो । त्यसक्रममा बाहिर चर्चामा आएका नाममाथि पनि छानबिन हुने बताइए पनि औपचारिकरूपमा छानबिन भने अघि बढाइएको थिएन । देउवापत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मन्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायत यो काण्डमा मुछिँदै आएका छन् । उनीहरूमाथि पनि छानबिन गर्न सर्वसाधारणको माग रहँदै आएको छ ।

त्यसो त १८ जनाको नयाँ जाहेरी दर्ता भइसकेकाले अब आउने नयाँ नेतृत्व अनुसन्धानबाट भाग्ने ठाउँ रहँदैन । उनीहरूमाथि अनुसन्धान अघि बढाउनैपर्ने बाध्यता सिर्जना भएको छ । एक प्रहरी अधिकृतको भनाइमा, नयाँ जाहेरी दर्ता भइसकेकाले प्रतिवादी नयाँ नभए पनि कारागारमा रहेकाको बयान पुनः लिनुपर्नेछ । त्यस क्रममा नयाँ व्यक्तिको नाम खुलेको अवस्थामा उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने अवस्था आउने छ ।

वास्तवमा, लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको फाइल खोल्ने साहसिक निर्णय उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी केसीले नै गरेका थिए । उनले गत १२ चैतमा लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको फाइल खोलेर यो प्रकरणका तीन आरोपीलाई समातेका थिए । उनले यस्तो समयमा त्यो फाइल खोलेका थिए, जुन बेला तत्कालीन आइजिपी धीरजप्रताप सिंह जिम्मेवारीबाट बाहिरिएर अवकाशमा गइसकेका थिए भने नयाँ महानिरीक्षकमा आएका वसन्तबहादुर कुँवरले कार्यालयको जिम्मेवारी राम्रोसँग बहन गरिसकेका थिएनन् । एक किसिमले नेतृत्वको ‘भ्याकुम’ जस्तै थियो । यो मौकालाई भरपुर उपयोग गर्दै उनले चलाखीपूर्वक गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए । पक्राउ परेका तीन जनामध्ये भण्डारीले यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको नाम लिएपछि माथिल्लै निकायको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो ।

तर, यो प्रकरणलाई ठगी मुद्दामा मात्र अघि बढाएर सामसुम पार्न अनेक प्रपञ्च भएको थियो । अन्तिम समयमा उनै एसएसपी केसीले थप जाहेरी लिएर जिल्ला प्रहरी परिसर, टेकु पठाइदिएपछि मुद्दा लम्बिएको थियो । त्यसपछि संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि नै हो पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेको ।

पूर्वगृहमन्त्री खाँण पक्राउ हुँदै गरेको सूचना महानिरीक्षक कुँवरलाई समेत दिइएको थिएन । खाँणलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै गएको थियो । उनी पक्राउ परेपछि मात्रै त्यसको जानकारी महानिरीक्षक कुँवरलाई दिइएको थियो । त्यही कारण पनि कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो । खाँण देउवाका अति नजिक मानिन्छन् ।

कसको कहाँ सरुवा ?
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्यालाल ज्ञवालीलाई त्यहाँबाट हटाइदा त्यसको असर अन्य एआईजीमा पनि परेको छ । उनलाई त्यहाँबाट कार्यविभाग पठाइँदा उनले सम्हाल्दै आएको ठाउँमा प्रशासन विभागका प्रमुख दीपक थापा आएका छन् ।

यस्तै, कार्य विभागमा कार्यरत एआइजी मीरा चौधरीको प्रशासन विभागमा सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआइजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा हुँदा मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।

को एसएसपीको कहाँ सरुवा हुँदै ?
प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सिआइबीमा सरुवाको प्रस्ताव गरेको छ ।

यस्तै, काठमाडौं प्रहरी परिसरमा प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी भुपेन्द्र खत्री, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, ललितपुर प्रहरी प्रमुखमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ ।

राजधानी दैनिक बाट