दैलेखको दुल्लु नगरपालिका–११, कालभैरवका जगत् पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गर्नुभयो । २४ वर्षपछि नै उहाँले आफ्नो सुन्तला खेती १५ रोपनीमा बिस्तार गर्नुभयो । सुन्तला खेती सप्रेका बेला उहाँको वार्षिक आम्दानी पाँच लाखसम्म भयो ।

‘सुन्तलाको बगैँचा नै बगैँचा थियो । बोटभरि लटरम्म सुन्तला फल्थे । सुन्तलाको मगमग बास्ना आउँथ्यो । जता हे¥यो उतै पहेँलपुर देखिन्थ्यो’ उहाँले भन्नुभयो । तर ती दिन अहिले उहाँलाई सपनाजस्तो लाग्छ । केही वर्षदेखि सुन्तलाको उत्पादन घट्दै गएपछि उहाँमा निराशा छाएको छ ।

करिब दुई वर्ष यता सुन्तलाको बोटमा फल लाग्न छाडेको, दाना सानो भएको र पहिलाजस्तो मिठो पनि नहुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘कतै रोग लागेर समस्या छ । बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।’

उहाँको बगैँचामा रहेका डेढसय सुन्तलाको उत्पादन बर्सेनि घट्दो छ । उहाँको बगैँचामा आर्थिक वर्ष २०७५–७६ मा ४० क्विन्टल सुन्तला फलेको थियो भने आव २०७६–७७ मा २७ क्विन्टल फलेको थियो । आव २०७७–७८ मा उत्पादन १३ क्विन्टलमा झ¥यो । आव २०७८–७९ मा ११ क्विन्टल सुन्तला उत्पादन भयो ।

पाँच वर्ष अघिमात्र सङ्घीय सरकारले दैलेखको दुल्लुलाई ‘सुन्तला जोन’ घोषणा गरेको थियो । पन्त आफ्नो वडा –११ सुन्तला जोनका लागि छनोट भएकोमा उत्साहित हुनुहुन्थ्यो । सुन्तला जोन अन्तर्गत दुल्लुमा ६५९ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएको छ । त्यसमध्ये ३०० हेक्टरमा फल दिने सुन्तलाका बोट छन्, जसबाट २७ सय मेट्रिक टन सुन्तला फल्ने अनुमान गरिएको छ ।

तर दुल्लु नगरपालिका–११ का तीनसय घरपरिवारले लगाएका सुन्तला अहिले सङ्कटमा छन् । सुन्तलाका हाँगा र डाँठ सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या भएको कृषक छविलाल बोगटीले बताउनुभयो । गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय, दैलेखले जनाएको छ ।

कतिपय विज्ञले बिनाअध्ययन सुन्तला खेती गरिएकाले त्यस्तो भएको बताउनुभएको छ । कतिले यसको कारक जलवायु परिवर्तनलाई मान्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनका जलवायु परिवर्तन विशेषज्ञ डा. सालु अधिकारीले २६ भाद्र २०७९ ‘जलवायु परिवर्तन र कर्णाली’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै आगामी वर्षमा जलवायु परिवर्तनको असर यहाँको कृषि क्षेत्रमा पर्ने बताउनुभयो ।

उहाँका अनुसार वन जैविक विविधता र जलस्रोत विषयमा गरिएको अध्ययनमा कर्णालीमा उत्पादन हुने रैथाने कृषि वस्तुको पहिचानसमेत हराउँदै गएको पाइएको छ । ‘कर्णालीमा उत्पादन हुने फलफूल र खाद्यवस्तुको चिनारी बिस्तारै मेटिँदैगएको देखिन्छ’ उहाँले भन्नुभयो, ‘प्रदेशको अर्ग्यानिक अवधारणालाई आत्मसात् गर्न थप अध्ययनको आवश्यकता छ ।’

किसानहरूको अनुभवले मात्र हैन, तथ्याङ्कले समेत दैलेखमा बर्सेनि सुन्तला उत्पादन घटेको देखाउँछ । कृषि विकास कार्यालय, दैलेखका अनुसार चालु आर्थिक वर्षमा ६ सय १४ हेक्टर क्षेत्रफलमा पाँच हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–८० मा ६ सय १२ हेक्टर क्षेत्रफलमा पाँच हजार ८७६ मेट्रिक टन सुन्तला उत्पादन भयो ।

आर्थिक वर्ष २०७८–७९ मा जिल्लामा ६ सय ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा पाँच हजार ९८५ मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएको छ । प्रत्येक वर्ष सुन्तला क्षेत्र बिस्तार गरिए पनि उत्पादन भने घटिरहेको छ ।

सुन्तला बगैँचाको व्यवस्थापन राम्रो नहुनुका साथै बोट बूढो भएकाले उत्पादन घट्दैगएको जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख दशरथ पाण्डेले बताउनुभयो । सुन्तलाका बोटहरू बूढो हुँदैजाँदा उत्पादन क्षमता पनि कम हुने उहाँले बताउनुभयो ।

‘सुन्तलालाई मलजल, सिँचाइ, काँटछाँट र उचित स्याहारसुसार नहुँदा उत्पादनमा कमी आएको हो’ उहाँले भन्नुभयो । बगैँचाको पुनः संरचना गर्न सकेमा सुन्तला खेतीको विकास र बिस्तार गर्न सकिने उहाँको भनाइ छ ।

सुन्तला उत्पादनमा यो सङ्कट कसरी आयो त ? किसान छविलाल बोगटीका अनुसार सुरुमा सुन्तलाका जरा, बोट सुकेर मर्ने रोग लाग्यो । औँसे किरा, दानामा दाग लगायत समस्याले सुन्तला खेतीमा क्षति पुग्यो । फल लाग्ने बेलामा रुख नै पहेँलो हुने, फल पाक्ने समय नभई पहेँलो हुने समस्या देखियो । ‘सुन्तलामा रोग देखिएको छ, उपचार विधि छैन’ बोगटीले भन्नुभयो, ‘सुन्तलाको लोकल (पुरानो) जातमा बढी रोग देखापरेको छ ।’ एक हजार बोट सुन्तला लगाएका उहाँको अहिले आठसय बोटमा मात्र सुन्तला फल्छ ।

सुन्तला कृषक जगत पन्त

नयाँ रोग किरा लाग्नु र बाढी पहिरोले सुन्तला खेतीमा क्षति पुग्नुका साथै जलवायु परिवर्तनका कारण देखिएको मौसमी बदलाव पनि एउटा कारण हुनसक्ने कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फल्ने समयभन्दा अगाडि नै फलफूल फुल्ने, दाना लाग्ने भइरहेको छ । जसलेगर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।’

जिल्ला कृषि विकास कार्यालय, दैलेखका कृषि प्राविधिक भूमिका गिरीका अनुसार सुन्तलामा पछिल्लो समय गुम्मोसिस, क्याङकर, सिटस, ग्रिनिङलगायतका रोग लागेको छ । उहाँका अनुसार यस्ताखालका रोगहरू जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् । जसका कारण फुलेका र फलेका फलहरू झर्ने, ढुसी लाग्नेजस्ता समस्या हुन्छन् ।

यस बाहेक नयाँ–नयाँ रोगले पनि सङ्क्रमण गरिरहेका हुन्छन् । खागरी सुन्तलामा भाइरसको सङ्क्रमण बढेपछि अन्य रोगको समेत सङ्क्रमण बढेको छ । यसको मुख्य कारणमध्ये जलवायु परिवर्तनका कारण परिवर्तन भइरहेको तापक्रम र हावाको आद्रताले सुन्तलाजस्ता फलफूलमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । यस अवस्थामा फलफूल बगैँचाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

विज्ञहरूको यस्तो सुझावका बाबजुद बर्सेनि घट्दो उत्पादनबाट जगत् पन्तजस्ता किसानलाई झनै पिरोलिनुपरेको छ । उहाँको रोजीरोटी समेत सुन्तला खेतीबाट चलेको थियो । घरखर्च मात्र नभई बालबालिकाको शिक्षादीक्षा समेत सुन्तला उत्पादनबाट चल्दैआएको थियो । तर अब उहाँ सुन्तला खेतीबाट जीविका चल्नेमा ढुक्क हुनुहुन्न । उहाँले भन्नुभयो, “अब के गरेर जीवन चलाउने होला ? मेरो त व्यवसाय र पेसा नै सङ्कटमा परिसक्यो ।”

(यो फिचर रिपोर्टिङ संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) द्वारा प्रदान गरिएको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।) गोरखापत्रबाट