इलाम । इलाम पर्यटकीय क्षेत्रका नामले परिचित छ । यहाँका पर्यटकीय स्थल घुम्नैपर्ने ठाउँका रूपमा पनि परिचित छन् । पर्यटकीय जिल्लाका रूपमा परिचित इलाममा विमानस्थल निर्माण हुँदै गर्दा पर्यटन क्षेत्रले फड्को मार्नेमा इलामवासी खुसी थिए । लामो समयको प्रतीक्षापछि विमानस्थल निर्माण त भयो, तर सञ्चालन हुन नसक्दा इलाममा जहाज चल्ने सपना सपनामै सीमित हुन पुगेको छ । पटकपटक सञ्चालन गर्ने प्रयास स्थानीय सरकारले गरे पनि निर्माण भएको विमानस्थलले यतिबेला इलामवासीलाई गिज्याइरहेको छ ।

प्रत्येक बिहीबार इलाम–काठमाडौं उडान गर्दै आएको नेपाल एयरलाइन्सले २२ जेठ २०८० मा अन्तिम उडान भरेको थियो । त्यसयता यहाँबाट कुनै उडान हुन सकेको छैन । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित व्यावसायिक उडान नहुँदा झन्डै २८ करोड रुपैयाँभन्दा बढीका संरचना प्रयोगविहीन बनेका छन् । यो विमानस्थलमा तारा एयरको टुइनेटर जहाजले २१ जेठ २०७५ मा कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो भने ३६ माघ २०७८ मा नेपाल एयरलाइन्सको ट्विनेअटर जहाजले सफल परीक्षण उडान गरेको थियो । निर्माणाधीन विमानस्थलमा परीक्षण उडान सफल भएपछि खुसी भएका इलामवासी नियमित सञ्चालन हुन नसकेपछि दुःखी बनेका छन् । उता, विमानस्थलमा जहाज नआउँदा करोडौंका संरचना प्रयोगविहीन बन्न थालेपछि यहाँबाट जहाज चढ्ने सपना सपनै रहेको भन्दै दुःख व्यक्त गर्न थालेका छन् ।

पूर्ण रूपमा विमानस्थल निर्माण सम्पन्न भइनसकेको र विमानस्थल भएको स्थानको मौसम बर्खायाममा खराब हुने भएकाले उडान भर्न जोखिम रहेका कारण इलाम–काठमाडौं हवाई उडान बन्द भएको नेपाल एयरलाइन्सका इलाम इन्चार्ज दिनेश सुन्दास बताउँछन् । उनले विमानस्थलमा यात्रुको चाप अत्यधिक रहने गरेकाले सातामा दुई÷तीनवटा नै उडान भर्न सकिने भए पनि मौसमकै कारणले उडान भर्न नसकिएको बताए । मौसममा सुधार आएपछि मात्रै उडान गर्न सकिने उनले बताए ।

विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालिएको थियो । निर्माण थालेको १० वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावनमार्ग निर्माण पूरा भएको हो । विमानस्थलमा अझै टर्मिनल भवन, विमानस्थलसम्म पुग्ने पक्की सडकलगायतका संरचना निर्माण गर्न बाँकी नै रहेको छ । विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ ।

स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ जति खर्च भएको बताइएको छ । विमानस्थल सञ्चालनमा आएमा इलामसँगै पाँचथर, तेहथुमसहित दार्जिलिङका नागरिकले सेवा पाउने थिए । विमानस्थल सञ्चालनमा आउँदा इलामलाई चलायमान बनाउन सकिने अपेक्षा रहेको छ ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्ग अलपत्र परेको छ । यता इलाम नगरपालिकाले भने हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

विमानस्थल निर्माण सम्पन्न भएपछि इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका स्थानीयलाई समेत सहज हुने ठानिएको छ । सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण थालिएको थियो । २०५८ मा नै प्रक्रिया थालिएको विमानस्थल २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए ।राजधानी दैनिक बाट