प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन्।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताए। उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समिक्षामार्फत भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे। सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको दाबी गरे।

उनले सरकारले निजी क्षेत्रको माग अनुसार नीतिगत सुधार गरेको भन्दै निजी क्षेत्र सुखी भएको उल्लेख गरे। उनले राष्ट्र बैंकले नीतिगत रुपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भएपनि देशको अर्थतन्त्र माथिको दबाब कायमै रहेको जिकिर गरे। उनले अर्थतन्त्रको तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएपनि वास्तविकतामा अर्थतन्त्रमा दबाब अझै रहेको बताए। रेमिट्यान्स, राजश्व, विदेशी मुद्राको सञ्चिती वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको उनको भनाइ छ।
नागरिक बाट