रुकुमपश्चिम, कात्तिक १० गते । रुकुमपश्चिमको मुसिकोट नगरपालिका –४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका १ खलङगाबाट वडा ४ सोलाबाङ्गतर्फ जाँदैगरेको रा १ ह ७३०९ नम्वरको अटो आज दिउँसो साढे ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । उहाँका अनुसार अटोमा रहेका आठ जना यात्रुमध्ये तीन जना सकुशल रहेका छन् ।

घाइते हुनेहरुमा मुसीकोट नगरपालिका –११ की ३० बर्षीया मञ्जु ओली, सोही वडाका २५ वर्षीय कृष्ण बिक, मुसिकोट नगरपालिका –४ बस्ने अर्चना सन्यासीको छोरा डिसिजन खड्का र मुसिकोट नगरपालिका –११ की २४ वर्षीय टीका ददेल र उहाँको १५ महिनाको छोरा नुवाक शेर्पाली रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि खलंगा बजारमा रहेको साझा मुराल अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार घाइतेहरु नाबालक नुवाक शेर्पालीको अवस्था गम्भीर रहेको छ । उनको निधारमा चोट लागेको छ ।

अटोमा सवार घाइते मञ्जु ओलीका ४ बर्षीय छोरा लक्की ओली, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासी र उहाँको १७ महिनाको छोरी बेनिका खड्का भने सकुशल रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी यात्रु बोकेको अटो अनियन्त्रित भई पल्टिएरपछि दुर्घटना भएको बताइएको छ । अटो चालक मुसिकोट नगरपालिका ४ निवासी ३३ बर्षीय मनिराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गोरखापत्र दैनिक बाट