सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् ।चालू वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा बुधबार बिहान हिउँको ढिस्कोले पुरिँदा दाछिरी शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका थिए ।

बेपत्ता भएका तीनैजना खुम्बु पासाल्हामु गाउँपालिका–५ का हुन् । उनीहरू इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिको तर्फबाट खटिएका थिए ।बुधबार अबेरसम्म खोजी कार्यमा जुटे पनि उनीहरूलाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहीबार बिहानदेखि फेरि उनीहरूको खोजी कार्य सुरु भएको छ । पर्यटन विभागका अनुसार सिम्रिक एयरको हेलिकोप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजी कार्य भइरहेको छ ।