काठमाडौँ । भारतमा भईरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बहुप्रतिक्षीत खेल हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने भएको छ । भारत र पाकिस्तानबिचको दिवा—रात्रि खेल नेपाली समयअनुसार आज दिउँसो २ः१५ बजे सुरु हुनेछ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यही खेल हेर्न अहमदाबारमा क्रिकेटका फ्यानहरुको बाक्लो उपस्थिति भईसकेको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाईएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  लामो अन्तरालपछि पाकिस्तानी क्रिकेटरहरु भारत पुगेपछिको दुई देशबीचको यो पहिलो प्रतिस्पर्धा हो । यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् भने दुवै विश्वकपको पूर्वविजेता पनि हुन् । भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वरीयतामा  भारत पहिलो र पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ ।   जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत जित निकालेका छन् । त्यसैले पनि यी दुवै देशलाई यो खेल महत्वपूर्ण छ ।  भारतले पाकिस्तानको मैदानमा ११ खेल जितेको छ भने पाकिस्तानले भारतको मैदानमा १९ खेल जितेको छ ।   भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हारेको छैन । पाकिस्तानले टि२० विश्वकपमा भने भारतलाई हराएको छ ।   भारत र पाकिस्तान एकदिवसीय विश्वकपको हेड टु हेड यस्ताे छः १९९२ – भारत ४३ रनले विजयी १९९६ – भारत ३९ रनले विजयी १९९९ – भारत ४७ रनले विजयी २००३ – भारत ६ विकेटले विजयी २०११ – भारत २९ रनले विजयी २०१५ – भारत ७६ रनले विजयी २०१९ – भारत डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले विजयी ।