आफन्त जनको मृत्यु हुँदा अधिकांश परिवारका व्यक्तिलाई अन्तिम संस्कार गर्न आर्यघाट सम्म शव पुर्‍याउने सवारी साधनको बन्दोबस्त गर्न निकै समस्या हुने गर्थ्यो। कयौँ विपन्न परिवारलाई त घाट सम्म पुर्‍याएर अन्त्येष्टि गर्न लाग्ने खर्च तत्काल जोहो गर्न पनि धौ धौ हुने गर्थ्यो। धनगढीवासीलाई भने अब यी समस्या भोग्नु नपर्ने भएको छ।

आफन्तको मृत्यु भएको आपतको बेला जनताले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै शवयात्राका लागी निःशुल्क शव बाहान उपलब्ध गराइरहेको धनगढी उपमहानगरपालिकाले अन्तिम संस्कार गर्न नगद ५ हजार पनि दिने भएको छ।

धनगढी उपमहानगरले विपन्न परिवारलाई आफन्तजनको निधन हुँदा आर्थिक अभावले अन्त्येष्टि गर्न समस्या नहोस् भनेर ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।

विपन्न परिवारलाई आफन्तजनको असामयिक निधन हुँदा दाहसंस्कार गर्न दाउरा किन्ने पैसो समेत नहुने भएकाले ससम्मान अन्तेष्टी गर्न धनगढी उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख गोपाल हमालले बताए।

‘म घाटमा एक पटक गएको बेला ४ जनाको दाहसंस्कार भइरहेको थियो। दुई जनालाई दाउरामा जलाईदैथ्यो भने दुई जना टायरमा जल्दै थिए’ उनले भने–’दाउरा पनि किन्न नसकेर टायरमा जलाउने अवस्था कयौँको छ। मृत्यु अकस्मात् हुने कुरो हो, कयौँलाई दाउरा किन्ने पैसो समेत नभएर दाहसंस्कार गर्न समस्या हुने गर्छ, त्यसैले सबै नगरवासीको अन्तेष्टी स सम्मान होस भनेर सहयोग गर्ने निर्णय गरिएको हो।’

उपमहानगरपालिकाको टोल फ्री नम्बरमा फोन गरेमा घरमै गएर ५ हजार उपलब्ध गराइने उनले बताए। टोल फ्री नम्बरमा फोन गरेर जानकारी गराएमा नगरवासी सबैले उपमहानगरपालिकाबाट अन्त्येष्टिका लागि रकम पाउने छन्। कार्यपालिकाको आइतबार बसेको बैठकले ५ हजार रकम दिने निर्णय गरेको हो।

जनताका जिवनका स-साना समस्यालाई समाधान गरेर स्थानीय सरकार छ भन्ने महसुस गराउन चाहेको हमाल बताउँछन्। आकस्मिक मृत्यु हुँदा घरदेखि घाट सम्म पुर्‍याउन निःशुल्क शव बाहान उपलब्ध गराइएको उनले बताए। स्थानीय सरकारको दायित्व सम्झेर निःशुल्क शव वाहन र नगद ५ हजार दिने निर्णय गरिएको प्रमुख हमालको भनाइ थियो।

‘आर्थिक अवस्था कमजोर भएकालाई आफन्तको मृत्यु हुँदा सवारीसाधन खोजेर घाट सम्म शव पुर्‍याएर अन्तिम संस्कार गर्न निकै समस्या हुने गर्थ्यो, शोकका वेला पैसा नभएकालाई धेरै आपतपर्थ्यो’ स्थानीय तेजबहादुर खड्का भन्छन्, ‘धनगढी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र नगद ५ हजार रकम उपलब्ध गराउँदा नगर बासीलाई धेरै ठुलो राहत मिलेको छ, सरकार जनताको लागी हो भन्ने महसुस हुन थालेको छ’।

सवारीसाधन भएकाले शव बोक्न सवारीसाधन दिन मन नगर्ने भएकाले केहिबर्ष अघिसम्म पैसो भएकाहरुलाई पनि आफन्तजनको मृत्यु हुँदा सम्मानजनक रुपमा गाडीमा राखेर आर्यघाट पुर्‍याउन नसकिने अवस्था रहेको उनी बताउँछन्।

‘अधिकांशको मृत्यु हुँदा ट्रयाक्टरमा राखेर घाट पुर्‍याउने गरिन्थ्यो, अहिले सम्मानजनक ढंगले महाप्रस्थान यान र शव बहानमा शवयात्रा गर्न पाइएको छ’उनी भन्छन्,‘जनतालाई सरकार भएको महसुस हुने यस्तै रचनात्मक कामले हो’।

यस अघि मेयर निर्वाचित हुनु अगावै हमालले निजी लगानीमा एक गाडी खरिद गरी निधन भएका नगरवासीलाई शवयात्रा सहित घाट सम्म पुगाउन निःशुल्क महाप्रस्थान यान संचालन गरेका थिए।

नागरिक दैनिक बाट