प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङ तिर भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न जाँदै छन् । आज विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो ।

मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।