सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिनुभएको छ । सभामुखका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ । सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा आजबाट छलफल शुरु भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभयो। अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो। उहाँले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका निति, कार्यक्रम पारित हुनुपर्ने बताउनु भयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताउनुभएको छ। गौतमले देशका विभिन्न आयोजना मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्यालाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्न समेत आग्रह गर्नुभयो। विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
नीति तथा कार्यक्रमविरुद्ध राष्ट्रियसभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरुले सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएका छन् । ।
आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो । तुलसाकुमारी दाहालले सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रहेको रासायनिक मल कारखाना खोल्ने बहुवर्षीय योजना तयार गरिएको भन्ने शब्द उल्लेख गरेको भन्दै उक्त शब्द हटाएर रासायनिक मलको समयमा व्यवस्थापन गरिनेछ भन्नेकुरा उल्लेख हुुनपर्ने संशोधन दर्ता गरेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य एवं संशोधन कर्ता विमला घिमिरेले बुँदा नम्बर ३६ मा खेती गर्न चाहने कृषकका लागि भूमि बैंक स्थापना गरी त्यसमार्फत कृषकलाई जमिन उपलब्ध गराउने कुरा थप्नुपर्ने बताउनु भयो । उहाँले बुँदा नम्बर ३१ मा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी गरी भन्ने शब्द राखिएकाले त्यसलाई हटाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले विराटनगरको विमानस्थललाई पनि बजेटमा समावेश गर्न आग्रह गर्नुभयो । बैठकमा देवेन्द्र दाहालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कुरालाई नयाँ नारा दिएर ल्याइएको बताउनु भयो । बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारले प्रश्तुत थरेको नीति तथा कार्यक्रम जनमुखी रहेको बताउनु भयो । उहाँले समतामुलक र समाजवादउन्मुख भन्ने संविधानले व्यवस्था गरेको बाटोलाई समातेर नै नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य देवले देशमै उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने लगायतका केही विषयहरु नयाँ र स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो ।